लघुकथा: आधुनिक कामदेव

 युवराज मैनाली

 


kamdev‘ए बूढा बा, के बाटो रोकेर उभिराख्या ?’ यो आवाज नाराका रूपमा घन्किएपछि म झसङ्ग बनँे । वरिपरि हेरेँ अगाडि केही जोडीबाहेक अरू केही थिएन । वरिपरि मबाहेक नदेखिएका तर सुनिएको जोडीको आवाजले चुम्बकझँै तानेर ठिङ्ग उभ्याइदिएको थियो । धूलो पनि छिर्न नसक्नेगरी म ढक्क फुलेर उभिएको रहेछु । पछाडि थापाथली पुलदेखि कुपण्डोलसम्म वाहनजामझँै जोडीजाम भइसकेको रहेछ ।
त्यत्रो बागमती तीर मजस्तो ख्याउटे उभिँदा जाम नहुनुपर्ने ! उदेक मान्दै आफूतिर हेर्नैपर्ने भयो । ओहो, म त यति फुलिसकेको रहेछु कि आफूलाई देखेर मनै जिरिङ्ग बन्यो । अनि आफ्नो अवस्था देखेर मलाई लाज र डर पनि लाग्यो । के गरुँ, के नगरुँको अवस्थामा म दौडिन थालँे ।
पछाडिबाट एकाएक विजयघोषको आवाज घन्कियो, ‘भाग्यो, भाग्यो ! बूढो भाग्यो ।’ अलिक सानो स्वरमा केहीको आवाज गुञ्जियो, ‘समात्, समात,् बूढो भाग्न नपाओस् ।’
म झन् भएभरको तागत निकालेर कुद्न थालेँ । निकैपर पुगेपछि कुन्नि केमा ठेस लागेर गुजुल्टिएर लडेँ ।
केहीबेरपछि आफूलाई सम्हालेर आफ्नो उभ्याइको दृश्य एक–एक गरी नियाल्न थालँे । आफ्नो वयको परिचयपत्र लिन हिँडेको म कता पो अलमलिएँछु ? शङ्खपार्कतिरको त्यो झाडीको वार्तालाप नै दोषी रहेछ, जहाँ सम्मोहित आवाज सुनिदै थियो । त्यसैको झङ्कारमा मुग्ध हुँदा आधुनिक कामदेवको श्रापमा परेर यस्तो दशा भोग्नु पुगेको रहेछु ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds