• ७ वैशाख २०८१, शुक्रबार

कृषि विकास कार्यालय हुम्लाका प्रमुखसहित चार जनाविरुद्ध मुद्दा

हुम्लामा हाइटेक नर्सरी स्थापनामा चार लाख भ्रष्टाचार

blog

अख्तियार दुरुपयोग अनुसन्धान आयोग । फाइल तस्बिर

काठमाडौं, असार १० गते।  हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै अनियमितता भएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिनुभएको हो। 

कार्यालय प्रमुख झा र तत्कालीन सबइन्जिनियर भीमबहादुर रोकाय, तत्कालीन वडाध्यक्ष दलबहादुर बुढा र फलफूल प्रशोधन केन्द्रकी सुष्मा कार्की भण्डारीविरुद्ध चार लाख ३८ हजार ५५७ रुपियाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। 

आर्थिक वर्ष २०७६/७७ मा मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यवसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।