• १६ चैत २०८०, शुक्रबार

तिलोत्तमा नगरपालिकाको बजेट २ अर्ब ७३ करोड ८४ लाख

blog

बजेट पेश गर्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वर चौधरी । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार १० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा उपप्रमुख जागेश्वरदेवी चौधरीले बजेट पेश गर्नुभयो । 

आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत, पूँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत रहेको छ । 

तिलोत्तमाले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो । चालु आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रहेको छ । बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपियाँ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजनिक गर्दै उपप्रमुख चौधरीले जानकारी दिनुभयो । 

बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालु आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताउनुभयो । बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाइमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ । 

यस्तै युवा, खेलकुद तथा मनोरञ्जन तर्फ ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ । आइतबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि करका दर अधिकांश यथावत् राखिएको बताउनुभयो ।

कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताउनुभयो । तेस्रो अधिवेशनको शनिबार बसेको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

प्रस्तुत बजेट तथा आर्थिक ऐनको दफाबार छलफलका लागि असार १६ गते दिउँसो २ बजे अर्काे बैठक बस्ने बताइएको छ ।