• १३ वैशाख २०८१, बिहिबार

व्यावसायिक बनाउँदै घरेलु मदिरा

blog

राधाकृष्ण डुम्रे 

वालिङ, असार १० गते  । स्याङ्जाको भिरकोट नगरपालिकाले घरेलु मदिरा व्यावसायिक बनाउने भएको छ। पालिकाले घरेलु मदिरालाई ब्रान्डिङ गरी व्यावसायिक बनाउने योजना सार्वजनिक गरेको हो। पालिकाले १२ औँ नगर सभामा घरेलु मदिरालाई व्यावसायिक बनाउने योजना अघि सारेको हो। नगरपालिकाले कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रममा घरेलु मदिराको ब्रान्डिङ गर्ने र व्यावसायिक बनाउने निर्णय गरी नीति तथा कार्यक्रममा समावेश गरेको हो।  

स्थानीयस्तरमा उत्पादित मदिरा सस्तो भए पनि गुणस्तर परीक्षण गर्ने व्यवस्था नहुँदा मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै पालिकाले नयाँ योजना अगाडि सारेको भिरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, “यसको उत्पादन र बिक्री वितरणलाई व्यवस्थित बनाउन सके स्थानीय नागरिकलाई आर्थिक रूपमा समेत सबल बनाउन सकिने छ।” सङ्घ र प्रदेश सरकारले पनि घरेलु मदिरा ब्रान्डिङ गर्ने विषयमा आवश्यक कानुन बनाउन लागेको उल्लेख गर्दै कर्माचार्यले स्थानीयस्तरमा अध्ययन गर्नु जरुरी ठानेर यस्तो योजना अगाडि सारेको बताउनुभयो। 

कतिपय विपन्न जनता मदिरा उत्पादन र बिक्री वितरण गरी जीवन निर्वाह गरेको समेत पाइएको नगर प्रमुख कर्माचार्यको भनाइ छ। गाउँघरमा उत्पादित मदिरा अर्गानिक र गुणस्तरीय तरिकाले उत्पादन हुने हो भने स्थानीय जनतालाई आयआर्जनको अवसर प्राप्त हुने उहाँको भनाइ छ। मानव स्वास्थ्यमा असर नपर्ने गरी घरेलु मदिरालाई व्यावसायिक बनाउने योजना रहेको छ। उहाँले भन्नुभयो, “मदिरा व्यवस्थित हुँदा समाजमा सकारात्मक प्रभाव पर्ने र आन्तरिक राजस्वमा पनि टेवा पुग्ने छ।” 

आगामी आर्थिक वर्ष २०८०/८१ मा घरेलु मदिरा उत्पादनको अवस्था, उपयोगिता, सम्भावनाका बारेमा आवश्यक अध्ययन, अनुसन्धान, ऐन, नियम र कार्यविधि बनाउन लागिएको हो। यसका लागि कार्यपालिकाबाट निर्णय गरेर नीति तथा कार्यक्रममा घरेलु मदिरा ब्रान्डिङको विषय समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिनुभयो। 

स्वास्थ्य बिमासँगै निःशुल्क उपचार 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने भएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले निःशुल्क उपचार गर्ने बताउनुभएको हो। गाउँपालिकाले सञ्चालन गरेको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने अध्यक्ष थापाले बताउनुभयो। 

आर्थिक अवस्था कमजोर भएका गाउँपालिकाभित्रका सबै नागरिकको उपचार निःशुल्क हुने छ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागु गरिने थापाले भन्नुभयो। अध्यक्ष थापाका अनुसार विभिन्न महामारीका अतिरिक्त क्यान्सर, मिर्गाैला फेल, मुटु रोग जस्ता दीर्घ रोगलेसमेत आम नागरिक त्रसित छन्। स्वास्थ्य क्षेत्रलाई केन्द्र बिन्दुमा राखेर वर्तमान पुस्ताले नै महसुस गर्ने गरी गाउँपालिकाले कार्यक्रम तय गरेको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको अध्यक्ष थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा समाजवाद उन्मुख स्वास्थ्य क्षेत्रको इतिहास रच्ने वर्ष बनाउने नीति लिइएको छ।” 

यसअघि नै पालिकाभरिका सबै परिवारका सदस्यको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ। गाउँपालिकाले खर्च बेहोरेर निःशुल्क बिमा गर्ने क्रमलाई निरन्तरता दिँदै आएको थापाले बताउनुभयो। 

कालीगण्डकी अस्पतालबाट  विशेषज्ञ सेवा, अनुसन्धानात्मक कार्यसहित थप सेवाको विस्तार गर्ने, रोकथाम, निदान र पुनस्र्थापना सेवालाई सहज र नियमित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सबै सेवालाई आधुनिक र विद्युतीय प्रविधिका रूपमा विकास गरिने पालिकाको योजना छ। 

यस्तै सामुदायिक विद्यालयका सबै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्थासमेत पालिकाले गरेको छ। “अध्यक्षसँग निःशुल्क औषधी कार्यक्रम,” सञ्चालन गर्ने अध्यक्ष थापाले बताउनुभयो। यस्तै शून्य होमडेलीभरि गराउन प्रत्येक गर्भवतीलाई अस्पतालसम्म आउन निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने नीति अवलम्बन गर्ने पालिकाले जनाएको छ। गर्भवती, शिशु, बालबालिका, किशोर र अपाङ्गता भएका व्यक्तिलाई पोषणको स्थितिमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष थापाले बताउनुभयो। 

मानसिक रोगका बिरामीका लागि संरक्षण गृह, ज्येष्ठ नागरिकलाई दिवा सेवा तथा मिलन केन्द्र जस्ता संस्थागत संरचना स्थापना तथा सञ्चालन गर्ने नीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ।