• ७ वैशाख २०८१, शुक्रबार

लघुवित्तको चार करोड त्रिपन्न लाख हिनामिना

blog

जाजरकोट समाचारदाता

जाजरकोट, असार ९ गते । छेडागाड नगरपालिका–५, थलह बजारमा रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर लाखौँ रकम हिनामिना गरेको पाइएको छ । थहल शाखाका कर्मचारीले चार करोड ५३ लाख रुपियाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा परेको छ ।

कर्मचारीले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको रकम हिनामिना गरेको पीडितले बताएका छन् । करिब २८५ जना नागरिकको नाममा थलह शाखाका तत्कालीन शाखा प्रमुख सुशील केसीसहित आठ जना कर्मचारीले रकम हिनामिना गरेको आरोप छ । कर्मचारीले नक्कली ऋणी खडादेखि ब्याजबापतको रकम हिनामिना गरेको आरोप लागेको छ । लघुवित्त संस्थाको केन्द्रीय कार्यालयले अडिट गर्दा उक्त रहस्य खुलेको हो ।

रकम हिनामिना भएको रहस्य खुलेपछि एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा–७, काभ्रेपलाञ्चोक र शाखा कार्यालय जाजरकोटले तत्कालीन शाखा प्रमुख केसीसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दर्ता गराएको हो । 

मुद्दा परेका आठै जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय खातावालाको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना गरेकाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मुद्दा परेकाको कर्मचारीको नाम भने प्रहरीले समाचारका लागि दिन इन्कार गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष रोकामगरले अनुसन्धानकै क्रममा रहेकाले अहिलै नाम सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । संस्थाको करिब साढे चार करोड रकम हिनामिना भएपछि आठ जना कर्मचारीविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।