• ११ वैशाख २०८१, मङ्गलबार

आत्मनिर्भर बन्दै महिला

blog

महिला उद्यमीद्धारा उत्पादित जडिबुटीको धुप र उद्यमी महिला । तस्बिर : राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, असार ५ गते । महिला उद्यमीहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय जडीबुटीबाट धूप उत्पादन गरेका छन् । उद्यमीका लागि धूप उत्पादन सम्बन्धी तालिम पाएसँगै धूप उत्पादन सुरु गरिएको हो ।

सिमकोट गाउँपालिकाको समन्वयमा लघु उद्यम विकास कार्यक्रम ( मेड्पा ) ले १६ जना महिला उद्यमीहरूलाई स्थानीय जडीबुटी धुपी, जटामासी र चिमालोको पातबाट धूप उत्पादन सम्बन्धी तालिम दिएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिममा सो धूप उत्पादन गर्न सिकाइएको हो । 

आधुनिक प्रविधिको मेसिन प्रयोग गरेर उद्यमीहरूले तीन हजार पाँच सय थान सिन्के धूप उत्पादन गर्नुभएको स्नोल्याण्ड एकीकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताउनुभयो । ती धूपमध्ये एक हजार पाँच सय थान नेपाली कागज प्रयोग गरिएको छ भने बाँकी धूप जडीबुटीबाट मात्र उत्पादन गरिएको छ । 

त्यसैगरी आठ केजी पाउडर धूप पनि उत्पादन गरिएको छ । जडीबुटीको धूप उत्पादन सम्बन्धी दक्षता भएका सहजकर्ताबाट सिमकोट गाउँपालिका– ३ का महिलाहरूलाई यो तालिम प्रदान गरिएको हो। उहाँले त्यसै खेर गएको जडीबुटीलाई प्रयोगमा ल्याउन र बेरोजगार महिलाहरूलाई स्वरोजगार बनाउन यो तालिम प्रदान गरिएको बताउँदै यसको सदुपयोग भएकोमा खुसी व्यक्त गर्नुभयो । 

निक्कै बास्नादर र बाहिरबाट आउने धूप भन्दा सस्तो पनि हुने भएको कारण यसको बजार राम्रो देखिएको छ । उक्त वडाका वडा अध्यक्ष पामा लामाले खेर जाने जडीबुटीबाट धूप निर्माण हुनु आफैँमा सकारात्मक पक्ष भएको बताउँदै धूप उत्पादन सुरु गर्ने महिला उद्यमीलाई वडाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसका लागि सिमकोट 

गाउँपालिकाको सहजीकरण, मेड्पाको आर्थिक सहयोग र केन्द्रको प्राविधिक सहयोग छ ।