• ८ वैशाख २०८१, शनिबार

रामपुर अस्पताललाई डायलासिस मेसिन प्रदान

blog

डायलासिस मेसिन हस्तान्तरणमा सहभागीहरू । तस्विर : रेखीराम राना

रेखीराम राना

पाल्पा, असार ४ गते । पाल्पाको रामपुर अस्पताललाई पाँच वटा डाइलासिस मेसिन हस्तान्तरण गरिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकुले रामपुर अस्पताललाई मागको आधारमा पाँच वटा डाइलासिस मेसिन र एक सेट आरओ प्लाण्ट उपलब्ध गराएको हो ।

महाशाखा प्रमुख डाक्टर सर्वेश शर्माले रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापालाई डायलासिस मेसिन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । महाशाखा प्रमुख शर्माले नागरिकको जीवन रक्षाका लागि मेसिनको सही उपयोग हुनेमा विश्वास गर्नुभयो । रामपुर अस्पतालका लागि मेसिन प्राप्त भएपछि यस भेगका नागरिकलाई डायलासिस सेवा लिन सहज र सरल हुने नगरप्रमुख थापाले बताउनुभयो । 

डाइलासिस मेसिनको अभावमा रामपुरसहित गण्डकीवेशी क्षेत्रका मृगौला रोगका बिरामीहरू डायलासिसका लागि तानसेन, बुटवल, पोखरा जानुपर्ने बाध्यता छ । पछिल्लो समय मृगौला पीडित बिरामीको सङ्ख्या बढेकाले डायलासिस मेसिन आवश्यकता बढेको रामपुर अस्पतालले जनाएको छ । 

रामपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पताल तत्कालै डायलासिस मेसिन जडान गरेर सेवा आरम्भ गरिने जानकारी दिनुभयो ।