लगानी सम्मेलनलाई उच्चस्तरको सुरक्षा

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १२ गते । ‘ नेपाल लगानी सम्मेलन–२०१९’ लाई सुरक्षित र व्यवस्थित रूपले सम्पन्न गर्न उच्चस्तरको सुरक्षा व्यवस्था मिलाइएको छ । यही १५ र १६ गते काठमाडौँमा लगानी सम्मेलन आयोजना हँुदै छ ।
लगानी सम्मेलनका सहभागी, अतिथि, विभिन्न देशका सहभागी तथा लगानीकर्ताको शान्तिसुरक्षा र सवारी व्यवस्थापनका लागि गृह मन्त्रालयमा भएको सुरक्षा बैठकमा विशेष किसिमको उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाउने निर्णय भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विभिन्न राष्ट्रका विशिष्ट व्यक्ति, विज्ञ तथा उद्योगी, व्यवसायी र लगानीकर्ताको उपस्थिति हुने भएकाले सम्मेलन अवधिभर उपत्यकामा उच्चस्तरीय सुरक्षाव्यवस्था मिलाइएको बताउनुभयो । lagani_1
लगानी सम्मेलनको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मेवारी प्रहरीलाई दिइएको छ । ‘‘आवश्यकता अनुसार अन्य सुरक्षा निकाय पनि सञ्चालन हुने छन्’’ उहाँले भन्नुभयो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सवारी सञ्चालन र कार्यक्रमस्थलको सुरक्षा प्रहरीले गर्नेछ ।
कार्यक्रमस्थल होटल सोल्टीको वाह्यसुरक्षा, सवारी सञ्चालन र विमानस्थल सुरक्षा व्यवस्थापनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत परिसर तथा वृत्तबाट एक हजार पाँच सयभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
लगानी सम्मेलन–२०१९ लाई लक्ष्यित गरी सुरक्षा योजना, सतर्कता तथा कारबाही यो हप्ताबाट नै सञ्चालनमा आएको जानकारी दिँदै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले सहभागीको आगमनस्थानदेखि सम्मेलन स्थान र बासस्थानसम्मको सुरक्षा तयारी करिब अन्तिम चरणमा पुगेको बताउनुभयो ।
नेपाल लगानी सम्मेलन–२०१९ सचिवालयका अनुसार विभिन्न देशको मन्त्री तथा अन्तर्राष्ट्रिय दातृ निकायका उच्चपदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र लगानीकर्ता गरी छ सयभन्दा बढीको सहभािगता रहने अपेक्षा गरिएको छ ।
सुरक्षाको दृष्टिकोणले सम्मेलनलाई विशेष प्राथमिकतामा राखिएको भनाइ प्रहरीको छ । सम्मेलनको सुरक्षामा सशस्त्र प्रहरीको उपत्यका वाहिनी र राष्ट्रिय अनुसन्धान विभागको उपत्यका कार्यालयको सहभागिता हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds