• १३ वैशाख २०८१, बिहिबार

बेपत्ता मध्ये १९ जना अझै भेटिएन

blog

बाढीमा परि हराई रहेकाहरुको खोजी गरिँदै । तस्बिर : ध्यान कुलुङ

ध्यान कुलुङ

सङ्खुवासभा,  असार ४ गते । जिल्लाको हेँवा खोलामा शनिबार राती आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । 

बाढीले बगाउँदा पाँचखपन नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको हो । खोलामा आएको बाढीका कारण बेपत्ता भएकाहरू २४ घण्टा बित्दा पनि पत्ता लाग्न सकेको छैन । जिल्लाका सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तह र स्थानीयवासीले निरन्तर खोजी कार्यमा लाग्दा समेत कोही कतै नभेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी आएको खोला किनार, आसपासका गाउँहरूमा खोजी गरिए पनि हालसम्म कतै नभेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

बेपत्ता हुनेहरूमा इटहरी सुनसरीका सन्तोष ढकाल, झापा गौरा दहका फौजबहादुर कार्की, धनकुटा पाख्रिबासका गणेश गिरी, इलामका राजकुमार मगर रहेका छन् । त्यस्तै, झापाका मिना श्रेष्ठ, बर्दियाका राहुल थारु, रोहित थारु, पुलसन थारु, कालीराम थारु, भीम चौधरी, राजाराम थारु र भीम चौधरी रहेका छन् । 

अन्य बेपत्ता हुनेहरूमा कैलालीका रामजनत थारु, सुगत थारु, अमर थारु, सिता थारु, सङ्खुवासभा पाँचखपनका दीपक मगर, सङ्खुवासभा चैनपुरका ज्ञानबहादुर लिम्बु र सङ्खुवासभा पाँचखपनका सुभाङ राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

बाढीमा परि ३ जना घाइते भएका छन् । उनीहरूको चैनपुर हेल्पिङ ह्याडस अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा बर्दियाका टिकाराम चौधरी, दीपकराज थारु र सङ्खुवासभाका राजेश श्रेष्ठ रहेका छन् । मृतक, घाइते र बेपत्ता सबै सुपर हेवा जलविद्युत आयोजनाका कर्मचारी तथा श्रमिक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

बाढीले पाँचखपन नगरपालिकाको ६ परिवार पुर्णरुपमा विस्थापित भएका छन् । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।