• १२ वैशाख २०८१, बुधबार

घाँसका लागि आगो लगाउँदा वन सम्पदामा क्षति

blog

बैतडी समाचारदाता 

बैतडी, असार ४ गते ।  वनमा आगो लगाएमा राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण बैतडीका २० वटा सामुदायिक वनको करिब तीन सय हेक्टर वन क्षेत्रको सम्पदा जलेर खरानी भएको छ। 

डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक वनमा आगलागी नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो। 

वनमा आगो लगाए राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण सामुदायिक वन क्षेत्रमा आगो लगाउने प्रवृत्ति बढ्दो छ। डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार, यो वर्ष सामुदायिक वनको साढे तीन सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। 

यहाँको सिगास, पाटन, मेलौली, शिवनाथ र पञ्चेश्वरका सामुदायिक वनमा बढी डढेलो लागेको देखिन्छ। “सल्लेरी वन भएका क्षेत्रमा बढी डढेलो लागेको छ,” उहाँले भन्नुभयो, “स्थानीय उपभोक्ताको लापरबाहीका कारण आगलागीका घटना हुने गरेका छन्। 

सिगासको सेला, घट्टे, सिगासको भूमिराज, बोटबिरुवा, धुरा, उदयदेव, महादेव, साँगडा र खेतीलगायतका सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ।

पाटन नगरपालिकाको उदयदेव, दहबयाला, ठुलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वनको १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी दुई दशमलव पाँच हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। 

पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीनरतीन हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। सामुदायिक वनहरूमा डढेलो लागेका कारण लाखौँका वन सम्पदा जलेर नष्ट भएको वन कार्यालयले जनाएको छ। 

आगलागीका कारण खानेपानीका मुहानमा पानीको स्रोत घटेको छ। बैतडीमा ३७५ वटा सामुदायिक वन रहेका छन्। सुक्खा मौसममा घास पलाउने लोभले स्थानीयले नै आगो लगाइदिने गरेका छन्।