• १६ चैत २०८०, शुक्रबार

बनेन विपत् प्रतिकार्य योजना

blog

धनगढी समाचारदाता

धनगढी, असार ४ गते । हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन। यस वर्षको मनसुनका बेला हुन सक्ने सम्भावित जोखिमबाट जोगिन र खोज, उद्धार, व्यवस्थापनका लागि विपत् प्रतिकार्य नबनाइएको हो। जिल्ला विपत् प्रतिकार्य योजनाका आधारमा खोज, उद्धार र प्रतिकार्यको काम हुने गर्दछ। 

विपत् प्रतिकार्य योजना बनाउने तयारी अन्तिम चरणमा पुगे पनि सरोकारवालाको बैठक नबसेकाले कार्ययोजना बन्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

“हामी यसैमा लागेका छौँ,” प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भन्नुभयो, “अब अन्तिम चरणको तयारी भइरहेको छ। बैठक बसेर अनुमोदन गर्न मात्रै बाँकी छ।” जिल्ला विपत् व्यवस्थापन समितिले तयार पारेको विपत् प्रतिकार्य योजनालाई स्थानीय तहसहित सरोकारवालाको बैठक बसेर अनुमोदन गर्नुपर्ने हुन्छ। त्यही अनुमोदनका लागि बैठक बसेको छैन। असार पहिलो साता नै जिल्ला विपत् प्रतिकार्य योजना स्वीकृत गर्ने गरी बैठक बोलाउने कोसिस भइरहेको जोशीले जानकारी दिनुभयो। “सम्भवतः असार पहिलो साता बन्छ,” उहाँले भन्नुभयो। 

विगतमा बनाइएको विपत् प्रतिकार्य योजनामा केही कमी कमजोरी भएमा त्यसलाई सच्याएर हरेक वर्ष बर्खाअगावै संशोधित प्रतिकार्य योजना बनाउनुपर्ने हुन्छ। यसै गरी पहिचान भएका विपत्ग्रस्त क्षेत्र, सङ्कटापन्न समुदायलगायतमा केही हेरफेर भएमा सोही अनुसार प्रतिकार्य योजनालाई परिमार्जन गर्ने गरिन्छ। 

कैलालीको पहाडी क्षेत्रमा पर्ने पालिकाहरू चुरे र मोहन्याल गाउँपालिकामा पहिरोको समस्या रहेको छ। तराईका भजनी, टीकापुर, जोशीपुर, जानकी, कैलारी गाउँपालिका, घोडाघोडी, धनगढीलगायतका क्षेत्रमा बाढी, डुबान हुने गर्छ।