• १३ वैशाख २०८१, बिहिबार

हरित सहरका रूपमा विकास गर्छौं

blog

नरुलाल चौधरी

दाङको घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो उपमहानगरपालिका हो। चुरे र महाभारत पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यका दाङमा रहेको घोराही उपमहानगरपालिका कुल ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। १९ वडामा फैलिएको घोराही उपमहानगरपालिका साबिकको राप्तीको प्रमुख केन्द्रका रूपमा रहेको छ। कृषि, शिक्षा, स्वास्थ्यसँगै पयर्टनका  दृष्टिले अत्यन्त सम्भावना बोकेको घोराहीको विकास गर्दै कृषिमा आत्मनिर्भर, सफा, स्वच्छ र हरित सहरका रूपमा अघि बढाउनका लागि नगर प्रमुख नरुलाल चौधरी प्रयासरत हुनुहुन्छ। यसै सन्दर्भमा नगर प्रमुख चौधरीसँग गोरखापत्र दैनिकका घोराही समाचारदाता लीलाधर वलीले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :  

नगर प्रमुख निर्वाचित भएको एक वर्ष बितेको छ, पहिलो वर्षमा के के काम गर्नुभयो ? 

नगर प्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको एक वर्ष बितेको छ। यो मेरो दोस्रो कार्यकालको पहिलो वर्ष हो। समग्रमा भन्नुपर्दा यो वर्ष उपलब्धिमूलक नै भएको छ। पहिलो कार्यकाल पनि म आफैँ नगर प्रमुख भएर काम गरेकाले होला, दोस्रो कार्यकालको पहिलो वर्ष काम गर्दा सजिलो भयो। अघिल्लो कार्यकालमा पनि धेरै काम गरेका थियौँ  । केही काम सुरुवात गरेर पनि सम्पन्न गर्न पाएका थिएनौँ। ती काम यो वर्ष पूरा गर्न थालेका छौँ । बितेको वर्षमा नगरको विकासका लागि आवश्यक थप विभिन्न ऐन, नियम र कार्यविधि बनाउने काम गरेका छौँ । निर्वाचनको पहिलो वर्षलाई चुनावी वर्षका रूपमा पनि लिने गरिन्छ। 

त्यही अनुसार कामलाई व्यवस्थित गर्नका लागि पूर्वाधार, आर्थिक, सामाजिक, सुशासनलगायतका क्षेत्रमा सुधारमा जनतासँग गरेका वाचा अनुसार नगरको विकासका लागि काम गर्दै अघि बढेका छौँ। उपमहानगरपालिकालाई देशमै पहिलो पटक बालमैत्री उपमहानगरपालिका घोषणासँगै फोहोरबाट ग्यास उत्पादनको सुरुवात गरेका छौँ । घोराहीबाट निस्कने फोहोरबाट एक हजार पाँच सय घरपरिवारलाई ग्यास वितरणका लागि उत्पादन सुरु गरेका छौँ। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, विद्युतीकरणलगायतका क्षेत्रमा पनि उल्लेख्य काम गरेका छौँ। यही अवधिमा अधिकांश घरमा विद्युत्सँगै खानेपानीलगायतका सुविधा पु-याएका छौँ । बाँकी दुई वर्षभित्र १९ वटै वडाका सबै बस्तीमा खानेपानी र विद्युत्को सुविधा पु¥याउने योजना छ। प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गरेका छौँ  । प्रत्येक वडामा नमुना विद्यालय छनोट गरेर बालबालिकालाई गुणस्तरीय निःशुल्क शिक्षा दिने योजनामा छौँ  । त्यसको काम अघि बढिसकेको छ। नगरको समृद्धिको आधारका रूपमा रहेका कृषि र पर्यटन क्षेत्रको विकासका लागि पनि धेरै काम भएका छन्। कृषिको आधुनिकीरण गर्दै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्य अनुसार युवालाई कृषिमा प्रोत्साहन गर्ने गरी काम पनि गरेका छौँ। 

उपमहानगरपालिका अगाडिकै सडक वर्षौंदेखि अलपत्र अवस्थामा छ, त्यसको काम कहिले अगाडि बढ्छ ?

हो, नगरको विकासका लागि धेरै काम गर्दा पनि केही समस्या अझै समाधान गर्न सकिएका छैनन्। उपमहानगरपालिकाकै अगाडि रहेको सहिद गेटदेखि जिल्ला प्रशासन जोड्ने सडक, क्याम्पस रोड, वडा नं. १० को खैरा–कोठरी सडकसँगै वडा नं. ४ मा १५ शøयाको नगर अस्पताल निर्माणसँगै उपमहानगरपालिककै प्रशासनिक भवन समयमै निर्माण गर्न सकेका छैनौँ । जसले गर्दा प्रत्येक वडाका गाउँगाउँमा सडक निर्माणसँगै कालोपत्रे गर्दा पनि हामीलाई प्रश्न गर्ने ठाउँ बनेको छ। समयमै काम सक्नका लागि पटक पटक आग्रह गर्दा पनि निर्माण व्यवसायीले नटेर्ने प्रवृत्ति छ तर सार्वजनिक खरिद ऐन निर्माण व्यवसायीकै पक्षमा भएकाले म्याद नसकिँदासम्म हामीले उनीहरूलाई कारबाही गर्न सक्ने समेत अवस्था छैन। समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने अधिकार नहुँदा उनीहरूलाई काममा ताकिता गर्नुबाहेक अधिकार छैन। 


उपमहानगरको मुहार फेर्ने यहाँका आगामी योजना के के रहेका छन् ? 

केही नीतिगत कठिनाइ रहेका छन् भने केही नगरको भौगोलिक अवस्थाका कारणसमेत हामीलाई थप समस्यामा पारेको छ। घोराहीलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्य छ। त्यो अनुसार विकास निर्माणका कामलाई अघि बढाएका छौँ तर सार्वजनिक खरिद ऐनका कारण केही निर्माण व्यवसायीले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति देखिएको छ। शिक्षा सुधारका लागि वर्षौंदेखि हुन नसकेको दरबन्दी मिलानको काम गर्ने छौँ। ट्राफिक व्यवस्थापन, विद्यालय सुधार, कृषि उत्पादनको बजारीकरण, भौगोलिक विकटताका कारण छरिएर रहेका बस्तीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्यलगायतका आधारभूत सेवा पु¥याउन कठिनाइ छ। यी समस्यालाई समाधान गरेर घोराहीलाई सफा, स्वच्छ स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यमा अघि बढेका छौँ । 


अहिले बजेट निर्माणको काम भइरहेको छ, प्राथमिकतामा केलाई राख्नुभएको छ ? 

अहिले हामी बजेट निर्माणको तयारीमा छौँ। जनताका योजनालाई बजेटमा कसरी समेट्ने भन्नेमा हाम्रो ध्यान रहेको छ। बजेट भनेको जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो। जनताका विकास निर्माणसम्बन्धी चाहनालाई पूरा गर्दै घोराहीलाई नमुना सहरका रूपमा विकास गर्ने गरी बजेट बनाउँदै छौँ । बजेटमा भौगोलिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, कृत्रिम जलाशय निर्माण, रोजगारी, सरसफाइलगायतका विषयलाई प्राथमिकतामा राख्ने तयारी भइरहेको छ। त्यसै गरी फोहोर सङ्कलनलाई व्यवस्थित गर्दै गल्नेबाट ग्यास उत्पादन, नगल्नेलाई बिक्री, कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षण सिँचाइलगायतका विषयलाई प्राथमिकतामा छन्। नगरको समृद्धिको सपना पूरा गर्नुपर्ने छ। यद्यपि हामी स्थानीय सरकार हौँ। सीमित स्रोत, साधनमा रहेर हामीले विकास निर्माणका कामलाई अघि बढाउने हो। हामीसँग ठुला योजना र कार्यक्रम छैनन्। नगरको समृद्धिलाई कृषिको आधुनिकीधरण गर्दै युवालाई कृषिमा आकर्षित गर्ने, पर्यटन क्षेत्रको विकास, घोराहीलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना रहेका छन्। 


निर्वाचनताका यहाँले गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ कसरी काम भइरहेका छन् ? 

निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने कार्यको सुरुवात गरेका छौँ। यद्यपि पहिलो वर्ष भएकाले धेरै काम गर्न सकेका छैनौं । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार आधारभूत आवश्यकताका रूपमा रहेका सडक, खानेपानी, विद्युतीकरण, सिँचाइको व्यवस्थालगायतका काम भइरहेका छन्। सफा र स्वच्छ उपमहानगरपालिका बनाउने अभियानमा लागेका छौँ । त्यही अनुसार नै गल्ने फोहोरबाट बायो ग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै छौँ । नगरका प्रत्येक वडामा खेल मैदान, खरको छानो विस्थापित कार्य, ट्राफिक व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापनलगायतका प्रतिबद्धता पूरा गर्दै अघि बढेका छौँ  । 


सङ्घीय र प्रदेश सरकारसँग समन्वय कस्तो छ ?

नगरको समग्र विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पहिलेदेखि नै समन्वय र सहकार्य भइरहेको छ। सङ्घ र प्रदेश सरकारले ससर्त अनुदान र अन्य योजनातर्फ हामीले नसक्ने ठुला योजनामा बजेट नदोहोरिने व्यवस्था भनेका छौँ । ती योजना वडाबाटै सिफारिस भएका हुनुपर्छ, नत्र काम गर्न समस्या हुन्छ पनि भनेका छौँ । स्थानीय सरकारसँग समन्वय नगरेर व्यक्ति विशेषको पहुँचका आधारमा बजेट विनियोजन गर्दा काम गर्न समस्या हुने र एउटै योजनामा बजेटसमेत दोहोरिने समस्या भएकाले वडाबाट सिफारिस गरेको स्थानीय सरकारको आवश्यकताका आधारमा बजेटको व्यवस्था गर्न माग गरेका छौँ ।