• ११ वैशाख २०८१, मङ्गलबार

डायलासिस मेसिन बिग्रिँदा बिरामी मर्कामा

blog

अमरराज नहर्की

तनहुँ, असार ४ गते  । दमौली अस्पतालस्थित मिर्गौला उपचार केन्द्रमा रहेका ११ मध्ये पाँच डायलासिस मेसिन बिग्रिएका छन्। छ वटा मेसिन मात्र सञ्चालन भएपछि मिर्गौलाका बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन्। मर्मतपछि सञ्चालनमा ल्याइएका पाँचमध्ये २४ घण्टा नबित्दै अस्पतालका दुईवटा डायलासिस मेसिन पुनः बिग्रिएपछि बिरामी मर्कामा परेका हुन्। 

दमौली अस्पतालमा पर्याप्त मात्रामा डायलासिस मेसिन नहुनु र भएका मेसिनमध्ये पाँचवटा बिग्रिएपछि डायलासिस गराउन पालो कुर्नुपर्ने बाध्यता भएको छ। 

अस्पतालले बिग्रिएका आठमध्ये पाँच वटा मेसिन मर्मत गरेर सञ्चालनमा ल्याएको थियो। पाँच वटा मेसिन मर्मतपछि सञ्चालनमा आँउदा सेवाग्राहीलाई केही राहत मिलेको थियो तर मेसिन मर्मत गरेको २४ घण्टा पनि नबित्दै दुई वटा बिग्रिएपछि बिरामी मर्कामा परेका केन्द्रका कर्मचारी प्रेम गुरुङले जानकारी दिनुभयो। ११ वटा मेसिनमध्ये अहिले छ वटा मात्रै सञ्चालनमा रहेको जानकारी उहाँले दिनुभयो। 

केन्द्रमा हाल ४९ बिरामीले नियमित रूपमा मिर्गौलाको डायलासिस गर्दै आएका छन्। अस्पतालले चार सिफ्टमा बिरामीको डायलासिस गर्दै आएको छ। केन्द्रमा मिर्गौलाका बिरामीको चाप अनुसार उपचार सामग्री र दक्ष जनशक्ति नहुँदा बिरामीले दुःख पाएका छन्। मिर्गौलाका बिरामी भानु नगरपालिका–१० का गणेश मल्लले दमौली अस्पतालमा सेवा नपाई टाढा धाउनु पर्दा मर्का परेको बताउनुभयो। 

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषि काफ्लेसँगको समन्वयमा उपकरण पुनः सञ्चालन गरिएकोमा फेरि बिग्रिएपछि समस्या भएको बताउनुभयो।

प्राविधिक मगाएर एक साताभित्रै मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको दमौली अस्पतालका प्रमुख डा. दिवस ढकालले बताउनुभयो। हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो। 

स्थानीय समाजसेवी मञ्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुघ्न उपाध्यायको स्मृतिमा डायलासिस केन्द्र स्थापना गर्न करोड २५ लाख रुपियाँ सहयोग गर्नुभएको थियो।