• ८ वैशाख २०८१, शनिबार

‘बजेट देखाउन होइन, काम गर्न हो’

blog

पोखरा समाचारदाता

पोखरा, असार ४ गते । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेमगरले प्रदेश सरकारले देखाउन मात्र नभई काम गर्न बजेट ल्याएको बताउनुभएको छ।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेमगरले प्रदेशको औचित्य पुष्टि गर्ने गरी देखाउन मात्र नभएर काम गर्न नै बजेट ल्याएको स्पष्ट पार्नुभयो। “कसै कसैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाइरहेका छन्, प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी देखाउन मात्र होइन काम गर्न बजेट ल्याएका हौँ,” मन्त्री आलेमगरले भन्नुभयो।  “चालु आर्थिक वर्षको बजेट ६० प्रतिशत मात्र खर्च हुने आकलन छ। आगामी आवमा ८० प्रतिशत बजेट खर्च हुने गरी काम र्छौं,” उहाँले थप्नुभयो, “उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएका छौँ।” 

मन्त्री आलेमगरले यस वर्षको बजेटमा करको दायरा बढाएको तर कर नबढाएको बताउनुभयो। यस वर्ष भौतिक पूर्वाधार मन्त्रालयबाट ३० लाख र सिँचाइ तथा खानेपानीतर्फ १० लाखमा नघट्ने गरी बजेट विनियोजन गरेको जानकारी उहाँले दिनुभयो। 

उहाँका अनुसार आर्थिक मामिला मन्त्रालयको कुल बजेट चालु आवको भन्दा छ करोड नौ लाख रुपियाँले घटाइएको छ। आगामी वर्ष अत्यावश्यकबाहेकका कुनै पनि सरकारी भवन निर्माण नगर्ने र नयाँ सवारी खरिद नगर्ने नीति ल्याइएको छ।

प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपियाँको बजेट ल्याएको छ। चालु खर्चतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार, पुँजीगततर्फ २० अर्ब, १९ करोड चार लाख ६२ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड बजेट विनियोजन गरेको छ।