• ७ वैशाख २०८१, शुक्रबार

चार सडक कालोपत्रे गरिँदै

blog

धनकुटा समाचारदाता 

धनकुटा, असार ४ गते । धनकुटाका चार वटा सडक एकै साथ कालोपत्रे भइरहेका छन्। यसरी यति धेरै सडक कालोपत्रे भएको धनकुटामा यो पहिलो हो।

कोशी प्रदेशकै ठुलो आयोजना भनिएको तमोर कोरिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको विभिन्न सडकखण्ड कालोपत्रे भइरहेका छन्। कुल ११२ किलोमिटर लम्बाइ रहेको यो सडकले कोशी प्रदेशका पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरको यात्रालाई अत्यन्तै छोटो बनाएको छ। 

मूलघाटदेखि चुङ्माङ खोला हुँदै गणेश चोकसम्म कालोपत्रेका लागि नाला बनाउने लगायतका काम सुरु गरिएको छ। यो तमोर कोरिडोरको कालोपत्रे गर्न ठेक्का लागेर अहिले कालोपत्रे गर्नुअघिका कामहरू धमाधम भइरहेको तमोर कोरिडोर आयोजना धरानका प्रमुख विनोद भट्टराईले बताउनुभयो। 

संसद् विकास कोषको पाँच लाख रुपियाँबाट २०६५ सालमा ट्रयाक खोलेर निर्माण कार्य थालिएको तमोर कोरिडोरले सडक सञ्जालबाट टाढिएका कारण विगतमा दुर्गम बनेको त्यस क्षेत्रको जनजीवन अहिले सहज र सुगम भएको छ। यसबाट चौबिसे र साँगुरीगढी गाउँपालिकाका बासिन्दालाई धेरै फाइदा पुगेको छ। 

विगतमा जटिल अवस्थाबाट गुजे्रको त्यस क्षेत्र यतिबेला यातायात पूर्वाधारको हिसाबले सहज बनेका छन् भने बजारसँगको पहुँचसमेत जोडिएको छ। सानातिना व्यापार व्यवसाय पनि फस्टाएको छ। कृषि उपजहरू बजारसम्मको पहुँच यकिन भएको स्थानीय बासिन्दाहरू बताउनुहुन्छ। सडक पूर्वाधार विकास भएसँगै जिल्ला बाहिरका बजारमा समेत लगेर बिक्री गरेर मनग्गे आम्दानी लिन सक्ने तमोर कोरिडोरका परिकल्पनाकार तथा संविधान सभा सदस्य हेमराज भण्डारीले बताउनुभयो।

धनकुटाको बिहीबारेदेखि ताङ्खुवा, तेलिया हुँदै तेह्रथुम सदरमुकाम जोड्ने अर्को  महत्वपूर्ण सडकखण्डको २३ किलोमिटर सडक कालोपत्रे भइरहेको छ भने जिल्लाभित्रैको अर्का दुई वटा सडक बेलहरा बागखोर छिडीसम्म १२ किलोमिटर र हिले उत्तरपानी छिन्ताङ त्रिवेणी सडक अन्तर्गत १० किलोमिटर सडक पनि कालोपत्रे भइरहेको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो। धनकुटाकै अर्को  ठुलो सडक मानिएको पाख्रिबास मुगा घोरेटार जोड्ने सडकलगायतका अन्य सडकहरू भने वर्षौंदेखि कालोपत्रे गर्ने भनिए पनि कालोपत्रे हुन सकिरहेका छैनन्।