• १६ चैत २०८०, शुक्रबार

भ्रष्टाचारमाथि चोटिलो प्रहार

blog

मुलुक ठुलाठुला भ्रष्टाचारका काण्डबाट जकडिँदै आएको छ । सरकारले गरेको एउटा पछिल्लो साहसिक कदमले भ्रष्टाचार नियन्त्रणमा बल मात्र पुगेको छैन नयाँ नेपाल निर्माणको आशासमेत पलाएको छ । ‘घुस लिने र दिने दुवै जना भ्रष्टाचारी’ भन्ने देशमा सरकारको आँट, साहस र लगनशीलतासहितको कमाण्डले भ्रष्टाचारीको अखडा प्रहार भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण र सोविरुद्ध सरकारी कदमसहित सर्वाेच्च अदालतले दिएको आदेशले भ्रष्टाचारमुक्त नेपाल बन्ने दिशामा रहेको स्पष्ट देख्न सकिन्छ । 

पञ्चायतकालमा मौलाएका भ्रष्टाचारयुक्त वन काण्ड, गलैँचा काण्ड, गाई काण्ड, छिन्ताङ काण्ड, नमिता सुनिता काण्ड, पिस्कर काण्ड, मूर्ति काण्डमा कसैले पनि विरोध गर्न पाइन्नथ्यो । विरोध ग-यो कि जेल जीवत बिताउनुपथ्र्यो । २०४६ सालयता पनि थुप्रै काण्ड भए । चर्चामा रहेका वाइडबडी, ओम्नी औषधी आयात काण्ड, सुरक्षण प्रेस खरिद काण्ड, लाउडा काण्ड, बालुवाटार जग्गा काण्ड, गिरिबन्धु टिस्टेट जग्गा काण्ड सबै सेलाएर गएका छन् । विश्व नै आक्रान्त भइरहेको बेलामा समेत भ्याक्सिन खरिद गर्दा पनि नेपालमा मौलाएको भ्रष्टाचारको संस्कृति सतहमा आएको थियो ।

चीनका महान् लेखक लुसुनले एउटा सन्दर्भमा भन्नुभएको थियो ‘तपाईंहरू कसैको घरमा गएर उनका बालबच्चालाई आशीर्वाद दिएर बाबु तिमी ठुलो मान्छे बन्नु डाक्टर, इन्जिनियर बन्नु भन्नुभयो भने केटाकेटीको आमाबुवाले खुसी भएर मिठो मिठो खानेकुरा खुवाएर पठाउँछन् । तर तपाईंको छोराले भविष्यमा मर्छ भन्नुभयो भने लठ्ठीले हानेर खेदाउँछन्, रिसाउँछन् । तितो कुरा उनीहरूलाई पच्दैन । किनकि भविष्यमा केटाकेटी डाक्टर, इन्जिनियर बन्नेत ग्यारेन्टी हुँदैन तर मर्ने त ग्यारेन्टी हुन्छ नि ।’ अहिले देशमा त्यस्तै देखिन्छ । पार्टीका कार्यकर्तालाई तिम्रो नेता भ्रष्ट छ भन्यो भने बुरुक्कबुरुक्क उफ्रिन्छन् तर सत्य कुरा त्यही हो । 

यो प्रसङ्ग किन उठाइएको छ भने, पार्टीका कार्यकर्ता अन्धभक्त, चाटुकार, दलाल बनेका छन् । उनीहरू आँखा जुधाएर भ्रष्टाचार भएको छ भनेर भन्न सक्तैनन् । जसको कारण नेताहरू सुध्रिन पाउँदैनन् । एउटा पार्टीमात यस्ता कार्यकर्ता पाइयो कि उसका नेतालाई सही कुरोमा थोरै आलोचना गर्दा मात्र पनि सामाजिक सञ्जालमा छाडा कुरा लेखेर मनपरी गाली गर्दछन् । कस्तो संस्कृति देशमा हुर्कंदै छ ? यसले हामीलाई कहाँ पु-याउला ? राजनीति, जनता र देशको सेवा गर्ने एउटा माध्यम हो । यसलाई भ्रष्टीकरण नगरौँ । 

भ्रष्टाचारको सिकारमा जहिले पनि सबैभन्दा तल्लो वर्ग, जसले दिनभरि काम गरेर पसिना बगाएर आफ्नो केटा केटीलाई दुई छाक मुस्किलले पु¥याएका हुन्छन्, तिनीहरू पर्दछन् । समाजका हरेक तप्काबाट हेपिएका, मिचिएका, थिचिएका हुन्छन् । उनीहरूको पेटमा लात हान्ने कोसिस नगरौँ । यो भनेको अर्कालाई दबाउने र ‘मै खाउँ मै लाउँ सुखसयल मोज म गरुँ अरू सब मरुन् दुर्बलहरू’ भन्ने संस्कृतिको विकास हो । कृपया भ्रष्टाचारलाई अँगालो नहालौँ । राष्ट्रका सेना, प्रहरी, राजनीतिक नेता कार्यकर्ता, कर्मचारी हामी सबै देश र जनताका सेवक हौँ । अब पनि हामी भ्रष्ट रहने हो भने देश कसले बनाउँछ ?

इथोपियाका मानिस भात त के माड पनि खान नपाउने स्थिति बनेको हामीलाई थाहा छ । देश भनेको एउटा परिवार हो । त्यसैले परिवारलाई सम्पन्न बनाउन सबै लाग्नु पर्छ तर एउटाले मात्र कोसिस गरेर हुनेवाला छैन । अहिले लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्था चलिरहेको छ र स्वतःस्फूर्त रूपमा भ्रष्टाचारको खुलेर विरोध गर्नु पाइन्छ । चाहे त्यो सडक होस् वा संसद् आफ्नो मत राख्न पाइन्छ । त्यसैले संसद्मा केही व्यक्तिले उछितो काढेर अराजक भएर बोलिरहेका छन् । पञ्चायतकाल भएको भए बोल्ने माइक खोसिन्थ्यो वा बन्द गरिन्थ्यो हत्कडी लगाएर जेल बस्नु पर्दथ्यो । 

पार्टीका नेता भनेका देशका अभिभावक हुन् तिनले नै भ्रष्टाचार गरे भने सारा देशका सेवक, जनतासमेतले त्यही भ्रष्टाचार संस्कृतिको पिछलग्गु बन्छन् । त्यसो हुनाले नेताहरूले असल संस्कृतिको सुरुवात आफैँबाट गर्नु पर्छ । आलोचना सुन्न नसक्ने नेता हुन सक्दैनन् । नक्कली भुटानी शरणार्थीको विषयमा पक्ष र विपक्षमा घुमाउरो ढङ्गले थुप्रै लेख रचना प्रकाशित भएका छन् । सडकमा पनि विभिन्न तप्काबाट भ्रष्टाचारको विपक्षमा नारा जुलुस लागिरहेका छन् ।

संसद्मा पनि प्रधानमन्त्रीले भ्रष्टाचारको विषयमा बोल्नुभएको छ । उहाँले दरबार हत्याकाण्ड, मदन आश्रित हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन गरिने बताउनुभयो । सबैभन्दा रोचक कुरा उहाँ आफैँले क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको भए जेल जान तयार छु भन्नुभयो । यो चानचुने कुरा होइन । यो ती भ्रष्टहरू जो आफूहरू भ्रष्ट छन् अनि भ्रष्टाचारका कुरा उठाउँछन् तिनीहरूलाई कडा व्यङ्ग्य पनि हो । प्रधानमन्त्रीको संसद्मा आफ्नो पार्टीको बहुमत नभए पनि उहाँले भ्र्रष्टलाई ढाडमा टेकेर टाउकोमा हान्नुभएको छ । यो निकै साहसिलो पाइला हो । हजार माइलको यात्रा जहिल्यै पहिलो पाइलाबाट सुरु हुन्छ । यो सुरुवात हो । यो फायरभित्र र बाहिर दुवैतिर सोझिएको छ । यो आफ्नै पार्टीभित्र रहेका भ्रष्टाचारीका विरुद्ध पनि हो । भ्रष्टहरू जो कोही हुन् तिनीहरूका विरुद्ध सोझिएको फायर हो । यसलाई आफ्नो टाउकोमा आफैँ आगो झोसेर गरिएको शुद्धीकरणको सुरुवाती हो भन्दा फरक पर्दैन । विचारको पर्खाल हुँदैन । राम्रो विचार, समाजशास्त्रको नियम, समाज विकासको नियम पत्ता लगाउने विचार छ भने त्यो आफैँ प्रमाणित हुँदै जान्छ । 

एकथरी मानिस भट्याउने गर्छन् अर्काको देशको नेता, अर्काको देशको विचारको पछि लागेर कहाँ पुग्ने होला ? विचार जोसुकैको होस् ग्रहण गर्दा राम्रो हुन्छ । चीनका नेता माओले पनि पार्टीभित्रका भ्रष्ट र बाहिरका दलाल प्रवृत्तिविरुद्ध सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरेका थिए । ‘बमवार्ड द हेडक्वार्टर’ भन्दै निकै जटिल, मार्मिक र साहसिक काम गरेका थिए । देश, समाज र पार्टी शुद्धीकरणका लागि त्यस्तै अहिले सांस्कृतिक क्रान्तिकै झल्को दिने गरी भ्रष्टलाई तह लगाउने कामको सुरुवात प्रधानमन्त्रीबाट भएको छ । यसमा सबै जनता, सबै पार्टीका कार्यकर्तासमेतले साथ दिन जरुरी छ । यो भ्रष्टचारीको जालो तोड्न तपाईं अघि बढ्नुस् जनता साथमा हुने छन् । किनकि इतिहासमा नाम तिनैको लेखिन्छ, जसले प्रयत्न गर्छ । रमिते भएर बस्नेहरूको होइन । सबै भ्रष्टाचारका फायल बिस्तारै क्रमिक रूपमा खुल्ने छ भन्ने सबै जनता आशावादी छन् । 

लेखक सांस्कृतिककर्मी हुनुहुन्छ ।

  

Author

धर्मेश पोखरेल