• १६ चैत २०८०, शुक्रबार

चेपाङ बस्तीमा कुपोषणको समस्या जटिल

blog

राममणि दाहाल

हेटौँडा, असार ४ गते । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा पछिल्लो समयमा कुपोषणको समस्या जटिल बन्दै गएको छ। तीनै तहको सरकारले बालबालिकालक्षित पोषण कार्यक्रम सञ्चालन गर्दै आए पनि चेपाङ बालबालिकामा कुपोषणको समस्या घटेको छैन। 

राक्सिराङ गाउँपालिकामा सङ्घीय सरकारले केही वर्षदेखि चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम सञ्चालन गर्दै आएको छ तर चेपाङ समुदायको बालबालिकामा कुपोषणको समस्यमा सुधार आउन सकेको छैन। 

चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि कार्यक्रम सञ्चालनमा आएको लामो समयपछि राक्सिराङ गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलो पटक चेपाङ बालबालिकाको पोषण अवस्था जाँच गर्न टोल र बस्तीस्तरमा स्वास्थ्यकर्मी परिचालन गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक विजयकुमार कापरीले विकट बस्तीमा खाद्यान्न अभाव देखिएपछि अभियानका रूपमा टोल र बस्तीस्तरमा बालबालिकाको पोषणको अवस्था जाँच गर्न थालिएको जानकारी दिनुभयो। शुक्रबारदेखि गाउँपालिकाको नौवटै वडामा सुरु गरिएको अभियान अन्तर्गत छ महिनादेखि ५९ महिनामुनिका चेपाङ बालबालिकालाई लक्षित गरी स्वास्थ्यकर्मीले पोषणको अवस्था जाँच गरिरहेका छन्। 

उहाँले स्वास्थ्यकर्मीले बालबालिकाको तौल, उचाइ र पाखुराको नाप लिएर बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउने बताउँदै गाउँपालिकाभित्र रहेका ७१ वटा टोलमा परीक्षण कार्य असार ७ गतेसम्म सञ्चालन हुने बताउनुभयो। दुई दिनमा २५ वटा टोलमा ७३४ जना बालबालिकाको पोषण लेखाजोखा गरिएकामा ६६ जना अर्थात् नौ प्रतिशतमा कडा शीघ्र कुपोषण र ९४ जनामा मध्यम शीघ्र कुपोषण देखिएको छ। “७३४ जना बालबालिकाको पोषण लेखाजोखा गर्दा १६० जना अर्थात् २२ प्रतिशतमा कुपोषण देखिएको छ। पोषणका दृष्टिले यो बालबालिकाको जटिल अवस्था हो, तत्काल समाधान आवश्यक, अन्यथा स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्छ,” स्वास्थ्य संयोजक कापरीले भन्नुभयो। 

उहाँका अनुसार पाँच जनाको पोषण लेखाजोखा गर्दा दुई जनामा कुपोषण देखिएको छ। पोषणको अवस्था सुधार गर्न बालबालिकाबिच स्वास्थ्य प्रतियोगिता, सरसफाइ, मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरण कार्यक्रम, चेपाङ आमाहरूलाई पोषणसम्बन्धी तालिम प्रदान गर्दै आएका र कुपोषण भएकाहरूका लागि बालबालिकाको अवस्था अनुसार उपचारात्मक खाना प्रदान गरिँदै आएको उहाँले जानकारी दिनुभयो।    

उपचारात्मक खानाको प्रयोग ४२ दिनसम्ममा पनि कुपोषण भएका बालबालिकाको अवस्थामा सुधार नआएमा सदरमुकाम हेटौँडामा रहेको पोषण पुनस्र्थापना केन्द्रमा पठाइने गरिएको छ। “चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम चेपाङ बालबालिकालक्षित हो तर गाउँपालिकामा कुपोषणको समस्या रहेकाले अन्य समुदायका बालबालिकाको पनि पोषण अवस्था लेखाजोखा गर्ने र अवस्था अनुसार उपचारात्मक खाना प्रदान गर्ने गरिएको छ,” स्वास्थ्य संयोजक कापरीले अगाडि भन्नुभयो।  

गाउँपालिकाको वडा नं. ७ मा २०८ जनाको जाँच गर्दा २५ जनामा कडा कुपोषण र ४४ जनामा मध्यम कुपोषणको अवस्था रहेको पाइएको छ। यस्तै वडा नं. ८ मा ४५ जना चेपाङ बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा २८ जनामा कुपोषण भएको पाइएको थियो। तीमध्ये १६ जना बालबालिकालाई कडा शीघ्र कुपोषण र १२ जना बालबालिकालाई मध्यम शीघ्र कुपोषण भएको भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

उहाँले कुपोषण भएका बालबालिकालाई उपचारात्मक खाना प्रदान गर्ने गरिए पनि चेपाङ समुदायको आम्दानीको स्रोत नभएको, आर्थिक अवस्था कमजोर र चरम खाद्यान्न अभाव बेहोर्दै आएकाले उपचारात्मक खाना दीर्घकालीन समस्याको समाधान बन्न नसकेकाले विकल्पको खोजी गर्नुपर्ने बताउनुभयो।

प्रत्येक दिन नौवटा टोलमा पुग्ने गरी बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्न एउटा टोलीमा चार जना स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको छ।