• १६ चैत २०८०, शुक्रबार

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि

blog

काठमाडौँ, असार ३ गते  । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन लागेको उल्लेख गर्नुभयो ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले यस महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापकरूपमा उठाउने बताउनुभयो । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिनुभयो ।

ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिनुभयो ।