• ११ वैशाख २०८१, मङ्गलबार

लगानी प्रतिबद्धता २६ प्रतिशतले घट्यो

blog

काठमाडौँ, असार ४ गते । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता २६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ११ महिना (जेठ) सम्म २७४ परियोजनामार्फत ३४ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३४ अर्ब ५८ करोड ४७ लाख छ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रस्ताव आएको हो । गत वर्ष सो अवधिमा ४६ अर्ब ७६ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा २६ प्रतिशत अर्थात् १२ अर्ब ९६ करोड रुपियाँले वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ । 

विश्वभर देखा परेको आर्थिक मन्दीका कारण गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको जानकारी दिनुभयो । रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर परेको उहाँले बताउनुभयो । भिसामा कडाइ गरिएका कारण पनि लगानी प्रतिबद्धता कमी आएको विभागको भनाइ छ । चालु आवको जेठ महिनामा ५७ परियोजनामार्फत चार अर्ब ९६ करोड ५३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

विभागका अनुसार जेठ महिनासम्म सबैभन्दा धेरै सेवा क्षेत्रमा ११९ परियोजनामार्फत लगानी प्रतिबद्धता आएको छ । त्यस्तै पर्यटन अन्तर्गत १०४, उत्पादनमूलक परियोजना २५, सूचना प्रविधिमा आधारित १५, पूर्वाधार परियोजना नौ वटामा लगानी प्रतिबद्धता आएको हो । 

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजनामार्फत लगानी बढ्ने अनुमान गरिए पनि सो अनुसार लगानी आउन नसकेको विभागले जनाएको छ । गत मङ्सिरदेखि विदेशी लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपियाँमा झारेको थियो । लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको छ । सुरुदेखि हालसम्म पाँच हजार ८०७ परियोजनामार्फत चार खर्ब ५३ अर्ब ८४ लाख आठ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको बताइएको छ ।