• ७ वैशाख २०८१, शुक्रबार

सडकमा कसले फाल्यो गोलभेँडा किसानले कि बिचौलियाले ?

blog

काठमाडौँ, असार ४ गते  । किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार बिहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् । तर सरकार भन्छ : कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिचौलियाले फालेका हुन् । 

उपत्यका आसपासमा टनेलमा गोलभेँडा खेती गर्ने किसानले गोलभेँडाको लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेँडा फाल्न बाध्य भएको बताइएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेँडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपियाँ तोकेको छ तर सोही गोलभेँडा काठमाडौँमा खुद्रा बजारमा ३०/३५ रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

प्रतिकेजी ३५/३८ रुपियाँ उत्पादन लागत पर्ने गोलभेँडाको बजार मूल्य सात/आठ रुपियाँ पनि नपाएपछि किसान बजारमा ल्याएर करिब ३० हजार केजी गोलभेँडा फालेका छन् । “प्रतिकेजी गोलभेँडा उत्पादनका लागि न्यूनतम पनि ३५ रुपियाँ खर्च भएको छ सात/आठ रुपियाँमा बिक्री गर्नुपर्ने अवस्था आयो । यसै नोक्सान उसै नोक्सान त्यसैले फ्याँकेँ,” बिहान कालीमाटी बजारमा गोलभेँडा फ्याँकेका किसान नन्दलाल रोकायाले बताउनुभयो । 

छोराछोरी जस्तै गरी हुर्काएको बिरुवाबाट फलेको गोलभेँडा बजारमा त्यत्तिकै फ्याँक्ने कसैलाई रहर हुँदैन भन्दै उहाँले उत्पादन गरेको तरकारी बिक्री गर्ने बजार पाइँदैन, नेपाली किसान कसरी बाँच्ने भनी प्रश्न गर्नुभयो । 

तरकारी बजार जहिले पनि बिचौलियाको नियन्त्रण हुँदा यो देशमा किसानको लगानी र दुःखको मूल्याङ्कन कहिल्यै हुन नसकेको किसान रोकायाले गुनासो गर्नुभयो । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा परेको किसानको गुनासो छ । गोलभेँडाको उचित मूल्य निर्धारणका विषयमा राज्य जिम्मेवार नभए माइतीघर र सिंहदरबार अगाडि गोलभेँडा फाल्ने चेतावनी किसानले दिएका छन् । 

यता कालीमाटी थोक व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले भने किसानले लगाएको आरोपमा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गोलभेँडा सबैतिरबाट आइरहेको छ, बढी उत्पादन भएकाले मूल्य सस्तो छ । त्यसैले बजारमा गोलभेँडाको मूल्य घटेको हो, प्रतिकेजी ११ रुपियाँका दरले छोड्नुहोस् बिक्री गछौँ, हामीलाई नाफा दिनु पर्दैन भन्दाभन्दै उहाँहरूले सडकमा फ्याँक्नुभयो ।” 

उहाँका अनुसार अहिले भारतबाट गोलभेँडा आएकै छैन । सबै हाम्रो उत्पादन हो तर किसानले यति धेरै गोलभेँडा लिएर बजारसम्म नआउने भएकाले गोलभेँडा किसानले नै फ्याँकेको दाबी भने शङ्कास्पद छ । 

कालीमाटी तरकारी बजारकै केही व्यापारीले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको हुन सक्ने आशङ्का गरिएको छ । 

कालीमाटीकै तरकारी व्यवसायी विनोद थापाले करिब पाँच हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गर्नुभयो । गोलभेँडाको मूल्य नपाएपछि केही दिनअघि पाँचखाल, चितवन र आज काठमाडौँमा फ्याँक्नु परेको छ । 

  

यो पनि पढ्नुहोस

कालिमाटीको ३० हजार किलो गोलभेडा सडकमा फालियो