• ७ वैशाख २०८१, शुक्रबार

ट्याङ्करको पानीबाट प्रसूति सेवा सुचारु

blog

स्याडी खोलाको पानी पञ्चेश्वर स्वास्थ्य चौकीको ट्याङ्कीमा खन्याइँदै

गोकर्ण दयाल 

बैतडी, असार ४ गते । पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माउनुभएको छ ।   

छेउमै महाकाली नदी बगे पनि पञ्चेश्वरमा प्रसूति सेवा सञ्चालन गर्न एक ट्याङ्करको २५ हजार रुपियाँ तिरेर तीन पालिका घुमाएर ४६ किलोमिटर टाढाको स्याडी खोलाको पानी शनिबार साँझ पञ्चेश्वर ल्याइएको हो । 

स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । छ हजार मेगावाट बिजुली निकाल्ने सपना बोकेको महाकालीबाट पानी तान्न मोटर चलाउने बिजुली नहुँदा तीन पालिका टाढाबाट ट्याङ्करमा पानी ल्याउनुपरेको बताइएको छ ।  पञ्चेश्वर गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीले पानी अभावमा जेठ २८ गतेदेखि प्रसूति सेवा बन्द गरेको थियो । त्यससम्बन्धी समाचार गोरखापत्रमा प्रकाशित भएपछि चौतर्फी दबाब सिर्जना भई पञ्चेश्वर गाउँपालिकाले ट्याङ्करबाट पानी ल्याएर शनिबार साँझ ७ः१५ बजेदेखि प्रसूति सेवा सुचारु गरेको हो । स्वास्थ्य चौकीको आँगनबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि प्रसूति भएका महिलाले पाइप छोएमा मुहान सुक्ने स्थानीयको अन्धविश्वासका कारण पानी नपाउँदा स्वास्थ्य चौकीले प्रसूति सेवा बन्द गरेको थियो । पाइपबाट पानी अझै नपाए पनि गाउँपालिकाले ट्याङ्करबाट पानी दिएपछि शनिबार साँझदेखि प्रसूति सेवा सुचारु भएको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताउनुभयो । 

संयोगले प्रसूति सेवा नियमित गर्न पानी पुगेकै दिन राति १२ बजे पञ्चेश्वरकी लक्ष्मी धामीले स्वास्थ्य चौकीमा शिशु जन्माएको अनमी निर्मला लावडले बताउनुभयो । राति १२ बजे उठेर सुत्केरी महिलालाई सेवा दिएको उहाँले बताउनुभयो ।  

पञ्चेश्वर स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिस घण्टा पानी आउँछ । बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई नदिएको स्वास्थ्य चौकीले जनाएको छ ।  

बस्ती र मन्दिरमा जाने पाइपबाट स्वास्थ्य चौकीलाई धारा दिन गाउँपालिकाले सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ । खानेपानी कार्यालयलाई प्राविधिक पठाइदिन अनुरोध गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।