• १३ वैशाख २०८१, बिहिबार

सञ्चालकलाई सहकारी लेखा व्यवस्थापन तालिम

blog

तालिममा सहभागीहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असार ३ गते । सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको समन्वयमा बेनीमा सहकारी लेखा व्यवस्थापन तालिम आइतबारबाट सुरु भएको छ ।

म्याग्दीभित्रका सहकारीका लेखा समिति एवम् सञ्चालक समितिका पदाधिकारीहरुको सहभागिता रहेको तालिम ६ दिनसम्म चल्ने बताइएको छ । तालिमको उद्घाटनसत्रमा  जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारीलाई जबसम्म सही व्यवस्थापन गर्न सकिदैन तबसम्म देशको उन्नति हुन नसक्ने तर्क गर्नुभयो । 

कहिंकतै केही सहकारीमा भएको समस्यालाई लिएर सबैलाई खराब भन्ने गरिएको भए पनि सञ्चालक समिति तथा कर्मचारीले राम्रो तबरले आफ्नो जिम्मेवारीबोध गरेका संस्थामा समस्या नरहेको उहाँको भनाइ छ । सहकारी संस्थामा बढी मात्रामा जिम्मेवारी सञ्चालक समिति र कर्मचारीको हुने हुँदा उहाँहरुले दायित्ववोध गरेको खण्डमा कुनै पनि समस्या नआउने कार्कीले बताउनुभयो । 

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रोशन अर्यालले सहकारी आफैमा खराब नहुने र कुनैमा खराबी देखिएमा त्यसलाई सही ठाउँमा ल्याएर बचतकर्ताको बचत फिर्ताको व्यवस्था मिलाइने बताउनुभयो । सहकारीकर्मीहरुले आफ्नो संस्थाको बारेमा सही जानकारी राख्नु पर्ने र त्यसलाई राम्रो बनाउनेतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । 

तालिमको सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रोशन अर्याल, अधिकृत तुलसीप्रसाद पौडेल, लोकनाथ अधिकारी लगायतले सहजीकरण गर्ने जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।