• ८ वैशाख २०८१, शनिबार

सुक्खा लागेपछि कपिलवस्तुमा पानीकाे हाहाकार

blog

खानेपानीको अभाव भएपछि चन्द्रौटा बजारमा ट्याङ्करमार्फत पानी वितरण गरिँदै । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असार ३ गते । ‘चापाकलमा पानी आउन छाडेको दुई साता भयो । खानेपानी वितरणको धारा केहीबेर मात्र आउँछ । भुइँतलासम्म पानी आउँछ । करिव आधा घण्टामै बन्द हुन्छ । केही वर्ष भयो सुक्खायाममा यस्तै हुन्छ ।’ कपिलवस्तु बुद्धभूमि –२ गोरुसिङ्गेका सुरज न्यौपानेले दुखेसो पोख्नुभयो । 

कपिलवस्तुका धेरै बस्तीमा अहिले पानीको चरम अभाव छ । अधिकांश चापाकल सुकेपछि पिउने पानीको अभाव भएको छ । राजमार्ग क्षेत्रमा पर्ने बुद्धभूमि, बाणगङ्गा, शिवराज नगरपालिकाका प्रमुख बस्तीमा पानीको हाहाकार छ । 

बाणगङ्गा नगरपालिका –९ का पूर्व वडा अध्यक्ष ध्रुव बेल्वासेले भन्नुभयो, “अघिल्ला वर्षसम्म सुक्खायाममा पानीको अभाव हुन्थ्यो । खोला नजिकको बस्ती भएकाले लामो समयसम्म चापाकल सुकेको थिएन । खोलामा पानी बगेको हुन्थ्यो तर यस पटक सुकेको छ । यस वर्ष पानीको चरम अभाव छ ।’

शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा समेत पानीको समस्या भएको स्थानीयले बताउँछन् । एक सातादेखि धारा सुकेको छ । विद्युतको भोल्टेज कम, पटक–पटक लाइन जान्छ । भोल्टेज कम हुँदा मोटरले पानी तान्न सकेको छैन । जसलेगर्दा पानी वितरण गर्न समस्या भएको छ । समस्या बढ्दै गएपछि शनिवारबाट ट्याङ्करबाट पानी वितरण गरेको चन्द्रौटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण भाटले बताउनुभयो । 

पछिल्लो समय नदी दोहन उच्च भएको र सिंचाइ प्रयोजनका भूमिगत जलस्रोतको प्रयोगले धारा सुक्ने गरेका बाणगङ्गाका वातावरण अभियन्ता हुमनाथ पौडेलले बताउनुभयो । चुरे क्षेत्रमा स्काभेटर प्रयोग गरी उत्खनन गर्दा भूमिगत जल पुनःभरण (रिचार्ज) प्रणालीमा समस्या हुने पौडेलले बताउनुभयो । कपिलवस्तुमा पछिल्लो दुई सातादेखि पानीको अभाव छ ।