• ७ वैशाख २०८१, शुक्रबार

गुल्मीमा कफी खेतीबारे छलफल

blog

रमेश विश्वकर्मा

गुल्मी, असार ३ गते । गुल्मीमा कफी खेतीसम्बन्धी समस्या र उत्पादन बढाउने उद्देश्यले कृषकसँग छलफल गरिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कफी खेतीमा आकर्षण गराउने र उत्पादन बढाउने उदेश्यले कृषकहरुसँग छलफल गरेको हो ।

जिल्लाका विभिन्न स्थानका कफी कृषकहरुका समस्याहरुको बारेमा जानकारी लिने र समस्या समधान गरेर उत्पादन बढाउने उदेश्यले कृषकहरुसँग कार्यक्रम गरिएको हो । कफी उत्पत्तिको जननी जिल्लाको रुपमा रहेको गुल्मीमा कफी खेतीतर्फ आकर्षण बढाउने प्रयास गरिएको छ ।

कफी उत्पादन बढाउन स्थानीय तहले उत्पादनलाई बढाउन कफी खेतीमा कार्यक्रमहरु ल्याउनुपर्नेमा सहभागी कृषकहरुको जोड थियो । कफी खेती सुरुवात भएको जिल्ला गुल्मीमा कफी खेतीलाई प्रवर्धन गर्ने उदेश्यले कार्यक्रम राखिएको हो ।

आगामी दिनका कफी खेतीको क्षेत्रमा गर्न लागेका कामहरुको बारेमा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएको कफी जापान कोरियामा अत्यधिक माग छ । तर सेतो गवारो रोगका कारण यहाँबाट माग अनुसारमा कफी उत्पादन हुन सकेको छैन ।

गुल्मीमा कफी सम्बन्धी विभिन्न परिक्षण एवम् अनुसन्धान गर्नको निम्ति रुरुक्षेत्र गाउँपालिका-४, बलेटक्सारको भण्डारी डाँडामा कफी अनुसन्धान कार्यक्रम कार्यालय स्थापन भएको छ । अनुसन्धान कार्यक्रममार्फत कफी सम्बन्धी अनुसन्धान, जात परीक्षण, रोग कीरासम्बन्धी अनुसन्धान गर्दै आएको छ ।