• १३ वैशाख २०८१, बिहिबार

कालिमाटीको ३० हजार किलो गोलभेडा सडकमा फालियो

blog

कालिमाटीको सडकमा फालिएको गोलभेंडा । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं, असार ३ गते। व्यवासयीले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेडा सडकमा फ्याँकेर विरोध जनाएका छन्। आइतबार गोलभेडा व्यवसायीले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेडा फ्याँकेका हुन्। उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेडा फ्याँकेर विरोध गरेका हुन्। 

नेपालमा उत्पादित गोलभेडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानले टमाटर फ्याँकेका छन्। गोलभेडा उत्पादक कृषिक बरुणबहादुर रोक्काले नेपाली किसानले उत्पादन गरेको गोलभेडाले बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताउनुभयो। 



उहाँले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताउनुभयो। उहाँले अहिले नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता पाउने नपाउने तर विदेशीबाट आयात भएर आएको वस्तुले बजार लिने गरेको बताउनुभयो।   उहाँले कालिमाटी बजारमा व्यवसायीले किसानसँग ८ रुपियाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताउनुभयो। उहाँले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताउनुभयो।

कालिमाटी तरकारी बजारमा किसानले तीन, चार सय क्रेट जति गोलभेंडा सडकमा फ्याँकेका छन्। किसानले करिब ३० हजार किलो गोलभेंडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको बताए। फ्याँकिएका गोलभेंडा रामकोट, नागार्जुन, थानकोट, भक्तपुरलगायत क्षेत्रमा फलेका हुन्।