• ८ वैशाख २०८१, शनिबार

अवैध कपडासहित दुई भारतीय नागरिक पक्राउ

blog

अवैध कपडासहित पक्राउ परेकालाई आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सार्वजनिक गरिँदै ।

राममणि दाहाल

हेटौँडा, असार ३ गते । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध कपडासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सिराहाबाट हेटौँडाका लागि आउँदै गरेको बिआर ०६ जिइ ५०५३ नं. को भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएको कपडासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार सार्वजनिक गरेको हो । 

ट्रक जाँच गर्ने क्रममा प्याजको बोराले छोपेर ल्याएको ९० बोरा कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । कपडासँगै पक्राउ पर्नेमा भारतको पञ्जाव राज्यको लोदियाना जिल्ला रसलपुर ग्राम ७ का ट्रक चालक ३३ वर्षीय रन्जौद सिंह र सहचालक २६ वर्षीय सुधीरकुमार सहनी छन् । 

प्रहरीका अनुसार बरामद भएको पाइन्ट, सुट, सर्ट, कुर्था र कोरा कपडाको मूल्य एक करोड ५५ लाख ६९७ रुपियाँ छ । प्रहरीलेले कपडासँगै ट्रक र ८४ क्विण्टल प्याजसमेत बरामद गरी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाएको छ ।