• १५ चैत २०८०, बिहिबार

मङ्कीपक्सको उपचारका लागि १४ अस्पतालमा ताेकियाे फोकल पर्सन

blog

काठमाडौं, असार ३ गते । सरकारले मङ्कीपक्स रोगको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्कीपक्स रोगको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकेको जानकारी दिनुभयो । 

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गर्दा नेपालमा पहिलोपटक मङ्कीपक्स भाइरसबाट हुने ‘एमपक्स’ रोग पुष्टि भएसँगै १४ अस्पतालमा फोकल पर्सन तोकेको हो । 

अधिकारीका अनुसार झापाको मेची अस्पतालमा डा.केशव ढकाल, कोशी अस्पतालमा डा.सिवी झा, बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा डा. सूचना मरहठ्ठा, जनकपुर अस्पतालमा डा.रामज्ञान यादव, वीरगञ्ज अस्पतालमा डा.अतुलेशकुमार चौरसिया, गण्डकी अस्पतालमा डा.आनन्द नेपाल, भरतपुर अस्पतालमा डा. शशी हिराचनलाई फोकल पर्सन तोकिएको छ । 

त्यसैगरी, वीर अस्पतालमा डा.निरज पराजुली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा सिर्वेन्द्र झालाई फोकल पर्सन तोकिएको डा. अधिकारीको भनाइ छ । त्यस्तै, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा डा.मोनिका काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालमा डा.मणिलाल श्रेष्ठ, भेरी अस्पताल डा.बद्री चापागाईं, सुर्खेत अस्पताल डा.सुस्मिता प्रधान र सेती अस्पतालमा डा.दिनेश शिवाकोटीलाई फोकल पर्सन तोकिएको डा. अधिकारीले जानकारी दिनुभयो । 

डा.अधिकारीका अनुसार यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ ९जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष, सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु  हुनसक्छ ।

यसको रोकथामका लागि एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने अधिकारीको सुझाव छ ।

 कसैलाई एमपक्ससँग मिल्दोजुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिनुहुन मन्त्रालयले अनुरोध गरेको छ । साथै यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालसमेत तोकी विशेषज्ञहरु तोकिसकिएकोले हुनाले उहाँहरुबाट परामर्श लिन सकिने  मन्त्रालयले जनाएको छ।

'एमपक्स' सङ्क्रमण विश्वभरि १११ देशमा पुष्टि भइसकेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।