• १६ चैत २०८०, शुक्रबार

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट

काठमाडौँ,  असार  ३ गते । पूर्वी नेपालमा गएराति आएको भीषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै  भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराउनुभएको हो ।

“ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।”

मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिनुभयो । त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लाग्नुभएको छ ।

मन्त्री ज्वालाले भन्नुभयो, “ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ । विद्युत्सम्पर्क पनि टुटेको छ । अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ”, उहाँले भन्नुभयो । 

मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ । सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो । बेलिब्रिज जडान नभएसम्मका लागि सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न लागिपरेको उहाँको भनाइ छ ।  रासस