• ८ वैशाख २०८१, शनिबार

स्थानीय पाठ्यक्रमको पढाइ सुरु

blog

मस्यौदालाई अन्तिम रुप दिन आयोजित सरोकारवाला पक्षको बैठकका सहभागीहरु । तस्विर : राजन रावत ।

राजन रावत

हुम्ला, असार ३ गते । ताँजाकोट गाउँपालिकाले स्थानीय स्तरमा तयार पारेको नयाँ स्थानीय पाठ्यक्रमको विद्यालयमा पठन पाठन सुरु गरेको छ । सात महिना लगाएर तयार पारेको पाठ्यक्रमको मस्यौदालाई सरोकारवाला पक्षले अनुमोदन गरेपछि कक्षामा पठनपाठन सुरु गरिएको हो । 

गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले आजबाट गाउँपालिका भित्रका १७ वटा विद्यालयमा शुक्राबारबाट एक साथ पढाइ सुुरु भएको बताउनुभयो । पाठ्यक्रमको पुस्तक छपाई नभएको भए पनि हाललाई प्रिन्ट गरेर प्रत्येक विद्यालयलाई उपलब्ध गराईएको, त्यसलाई आधार मानेर तत्काल पढाई सुरु भएको र केही समयमै छपाएर विद्यालय र विद्यार्थीहरुको हातहातमा उपलब्ध हुनेछ । 

'हाम्रो ताँजाकोट' नाम दिईएको स्थानीय पाठ्यक्रम भएको पुस्तकमा छ वटा विषय क्षेत्रहरु समेटिएका छन् । जसमा स्थानीय पेशा, व्यवसाय, प्रविधि हाम्रो सम्पदा, हाम्रो सामाजिक मूल्य र मान्यता, सकरात्मक व्यवहार, प्राकृतिक प्रकोप र विपद व्यवस्थापन तथा स्वास्थ्य र सरसफाइ, गैरकाष्ठ वन पैदावारलाई समावेश गरिएको छ । शाखाले पाठ्यक्रम तयारीको काम गत मङ्सिर महिनाबाट सुरु गरी जेठमा तयार पारेको हो । 

पाठ्यक्रम तयारीका लागि स्थानीय स्राेत व्यक्तिको सहयोग लिइएको थियो । गाउँपालिकाभित्रका १७ वटा विद्यालयका कक्षा एकदेखि आठसम्म यसको पढाइ सुरु भएको हो । यसबाट सबै विद्यालयमा एक हजार आठ सय विद्यार्थीहरुले अध्ययन गर्न पाएका हुन् । 

गाउँपालिका अध्यक्ष लालकेश जैसीले गाउँपालिकाको समग्र विषयवस्तुु समेटेर तयार पारिएको पाठ्यक्रम विद्यार्थीहरुका लागि निक्कै उपयोगी हुने बताउनुुभयो । यो सङ्घीयताले प्रदान गरेर स्थानीयलाई बढावा दिन यसको प्रयोग गर्न गाउँपालिका सफल भएको उहाँको भनाइ छ । 

विद्यार्थीहरुलाई गाउँपालिका बारेमा सानैदेखि जानकारी गराउन पाठ्यक्रम उपभोगी हुने विश्वास गरिएको छ । जिल्लाका सात वटा मध्य ताँजाकोट गाउँपालिका स्थानीय पाठ्यक्रम तयार पारि पठनपाठन सुरु गर्ने पहिलो गाउँपालिका भएको छ ।