• १५ चैत २०८०, बिहिबार

कालीकोटमा देखिए दादुराका बिरामी

blog

ज्वरो आएपछि स्वास्थ्य परिक्षणका लागि अस्पतालमा आएका बिरामी । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असार ३ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ मा चार जना बच्चामा दादुरा रोग पुष्टि भएको हो।

स्वास्थ्य सेवा कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तीमा गत जेठ ५ गते र २१ गते वडा नं २ को कालामोड भन्ने समुदायका पाँच जना बच्चामा गरिएको परिक्षणमा चार जनामा दादुरा पुष्टि भएको उल्लेख छ । फरक फरक मितिमा नमुना सङ्कलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र त्यहाँ परीक्षण हुँदा दादुरा पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । 

जिल्ला अस्पताल कालीकोटमा कार्यरत डाक्टर अप्सरा हमालले दादुरा पुष्टि भएकाले समुदायमा सचेत हुन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य सेवाले जारी गरेको विज्ञप्तिलाई सामाजिक सञ्जालमा पोष्ट गदै जिल्ला सदरमुकाममा दादुरा देखा परेकाले जिल्ला स्तरमा कुनै पनि सभा, सम्मेलन र अन्य कुनै पनि मानविय चाप बढ्ने कार्यक्रम नगर्न अनुरोध गर्नुभएको छ । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक डाक्टर सङ्केत विश्वक्रर्माले ज्वरो आउने, शरिरमा बिबिरा देखा पर्ने, आँखा रातो भएमा, खोकि लागेमा, नाकबाट सिगान बगेमा, रुघाखोकी लाग्ने स्वास्थ्य सेवा कार्यालय र नजिकका स्वास्थ्य चौकी तथा अस्पतालमा सम्पर्क राख्न सुझाव दिनुभएको छ । 

विश्व स्वास्थ्य सङ्गठनको टोली पनि जिल्लामा आएको र अरु परिक्षणभन्दा पनि सचेतीकरणका कार्यक्रमहरु सञ्चालन गरेर सङ्क्रमतिहरुवाट टाढा रहन सुझाव दिएको छ । यो मौसम पनि प्रतिकूल भएकाले सङ्क्रमण फैलिन सक्ने भएकाले सबैतिरका समुदाय सचेत हुन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।