• ८ वैशाख २०८१, शनिबार

तत्काल उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह

blog

फाइल तस्बिर ।

काठमाडौँ, असार ३  गते । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्न सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

सभाको आजको वैठकको सुरुमै समय माग गरी उहाँले भन्नुभयो, “खास गरी सङ्खुवासभामा अहिले सुपर हेवा हाइड्रोपावरमा काम गर्ने मजदुर १६ जना बेपत्ता भएको, तीन जना फेला परेको र एक जना मृत फेला परेको, तीन जना घाइते भएको जानकारी आएको छ । यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराइराखेको सूचना आएको छ, उद्धारमा जाने सुरक्षाकर्मी, राजनीतिक दलका नेताहरु सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ ।”

उहाँले सुपर हेवा हाइड्रोपावरलगायतका धेरै स्थानमा क्षति भएको बताउँदै तीन वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको संसद्मा बताउनुभयो । उक्त घटनाका कारण खर्बौं रुपैयाँको क्षति अएको अनुमान गरिएको उहाँको भनाइ छ । बगरमा रहेका सम्पूर्ण बाली नष्ट भएको र ११ वटा घर बगाएर विस्थापित भएको उहाँले जानकारी दिनुभयो । 

सङ्खुवासभालगायत क्षतिग्रस्त जिल्लामा सरकारले तत्काल उद्धार राहत र सहयोग पु¥याउन उहाँले माग गर्नुभयो । सांसद खड्काले आफूहरुले आजै बिहान प्रधानमन्त्रीलाई भेटेर राहतका लागि अनुरोध गरेको बताउँदै उहाँले भन्नुभयो, “पहाडी इलाकाका सुरक्षाकर्मीले मात्रै त्यस क्षेत्रमा भएको क्षतिलाई उद्धार गर्न नसक्ने भएका कारण सभामुखमार्फत सरकारसमक्ष जतिसक्दो चाँडो उद्धार कार्यमा लाग्न र क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति राहात र उद्धार गरिदिनु हुन पनि विनम्र आग्रह गर्दछु ।” रासस