• ११ वैशाख २०८१, मङ्गलबार

जेम्सको निर्देशनमा ‘सर्ट टर्म मेमोरी लस’

blog

काठमाडौँ, असार ३ गते । गायक जेम्स प्रधान निर्देशक पनि बन्नुभएको छ । उहाँको निर्देशनमा तयार भएको छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ को काठमाडौँमा आयोजित एक समारोहबिच प्रिमियर सो गरियो । एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गर्नुभएका गायक जेम्सले आफूनिकट भविष्यमा चलचित्रको निर्देशक बन्न सक्ने सङ्केत गर्नुभयो ।

इन्टरनेटको माध्यमले आफूले सिकेको सिपलाई प्रयोग गरेर निर्देशक बनेको जेम्सले जानकारी दिनुभयो । जेम्सले भन्नुभयो, “मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यही क्रममा निर्देशनसँगै लेखक पनि बनेको हुँ ।” उहाँको यो दोस्रो छोटो चलचित्र हो । गायिका आनी छोइङ डोल्माले चलचित्र निर्देशनसम्बन्धी दिएको प्रतिक्रियाले गायक जेम्सलाई निर्देशक बन्न प्रेरित गरेको बताउनुभयो ।

चलचित्रमा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तने परिस्थितिलाई चित्रण गरिएको छोटो चलचित्र १९ मिनेटको छ । चलचित्रलाई श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रङ संयोजन, जेसिका प्रधानले सम्पादन गर्नुभएको छ । कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शल्लभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुस गरेको बताउनुभयो । निर्देशक शल्लभले भन्नुभयो, “मैले जेम्समा गायनसँगै स्टोरी टेलिङको क्षमता बुझ्न पाएँ । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएन ।”

अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले चलचित्र हेरेपछि नियमितभन्दा फरक महसुस गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो ।” सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भीम तुलाधर, सङ्गीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्यलगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रशंसा गर्नुभएको थियो ।