• ७ वैशाख २०८१, शुक्रबार

युवाका ‘अभिन्न अङ्ग’ मोबाइल

blog

काठमाडौँ, असार ३ गते । पछिल्ला केही वर्ष यता धेरैका घर र कार्यालयका ल्यान्डलाइन टेलिफोन क्रमशः प्रयोगविहीन बन्न थालेको छ । दैनिक जीवनमा ल्यान्डलाइनको खासै प्रयोग हुन छाडेपछि त्यसको लाइन चुँडिए पनि तिर्नुपर्ने र रकम सकिए पनि वास्ता गर्न छाडिएको छ । 

जुन सुकै पेसा व्यवसाय गर्नेले पनि आफ्नो संवादको माध्यम मोबाइल नै बनाउन थालेपछि ल्यान्डलाइन फोन औचित्यहिन बन्न थालेको हो । मोबाइल केबल संवादको माध्यममा मात्र पनि सीमित रहेन । नुनदेखि सुनसम्म किन्न दानभेटीदेखि लाखौँको कारोबार गर्न, विभिन्न शुल्क तिर्नेको भरपर्दो र सहज माध्यम बनिदिएको छ मोबाइल । स्वदेश वा विदेश विश्वको जुनसुकै कुनामा बसेर पनि एक अर्काबिचको सामीप्यता आदानप्रदानको माध्यम मोबाइल बनेपछि बालबालिकादेखि वृद्धवृद्धासम्ममा मोबाइल मोह उत्तिकै छ । ललितपुर लामाटारकी ७२ वर्षीया बिन्दु न्यौपाने भन्नुहुन्छ, “बरू एकाध दिन खाना नखाई बस्न सकिन्छ तर मोबाइल र इन्टरनेटबिना भने बस्न नसकिने भइयो । दुवै छोराछोरी र नातिनातिना अमेरिका बस्ने भएपछि मोबाइल र इन्टरनेट २४ सै घण्टा चाहिने भएको छ । बिहान उठेदेखि राति नसुतेसम्म मोबाइल चलाइन्छ । यसैका कारण त छोराछोरी टाढा भएको आभास हुन दिएको छैन । अब ल्यान्डलाइनमा फोन गरेर मान्छे भेटिनु त चिट्ठा पर्नु जस्तै लाग्छ ।”  

पारिवारिक र सामाजिक विभिन्न समारोहका निम्ता पठाउन होस् वा प्रेमी/प्रेमिकाको डेटिङ सेट गर्न, घाँस–दाउरा गर्दागर्दै रुखको हाँगाबाट विदेशमा रहेका आफ्नासँग माया पिरती साट्न मोबाइल अपरिहार्य नै भएको छ । सामाजिक सञ्जलमा लिप्त युवापुस्ताले नयाँ नयाँ एप्लिकेसन तथा गेमका कारण जीवनको अभिन्न अङ्ग जतिकै मान्न थालेका छन् मोबाइल । चार्टर्ड एकाउन्टेन्सी तेस्रो सेमेस्टर अध्ययनरत सुवानी शर्मा भन्नुहुन्छ, “मोबाइल मेरो अभिन्न अङ्ग जत्तिकै छ । एकछिन छोडेँ भनेँ वेचैन हुन्छु ।”

 कोभिड–१९ पछिको समय त पठन पाठनको प्रमुख साधन नै मोबाइल बन्न पुग्दा साना ठुला जुनसुकै कक्षाका विद्यार्थीको अत्यावश्यक पाठ्य सामग्री बन्न पुगेको छ 

‘मोबाइल’ । ‘गृहकार्यको प्रश्न मोबाइलमा, नबुझेको पाठ बुझ्ने मोबाइलमा विद्यालय कलेजका अधिकांश सूचना सूचना पाटीको सट्टा मोबाइलमा आउने भएपछि के गर्नु,” कक्ष ११ मा अध्ययनरत नेहा शर्मा भन्नुहुन्छ । कुनै बेला मोबाइल फोनको प्रयोग सम्भ्रान्तहरूको विलासिताको साधनको हुने गरे पनि अहिले समाजका हरेक तप्का र उमेर समूहका लागि यो आधारभूत आवश्यकता भएको छ । मोबाइल मोह बढेपछि यसको बजारको व्यापकता पाउने नै भयो । 

विप्रेषणका कारण क्रय शक्तिमा आएको बढोत्तरीसँगै, प्रविधिमा पहुँच व्यापक बन्दा केबल संवादका लागि मात्र नभई विभिन्न प्रयोजनमा मोबाइलको प्रयोग बढेकै छ । अभिनेतृ रेखा थापाले आफूले धेरै मोबाइल फेरिसकेकोे बताउनुभयो । उहाँ भन्नुहुन्छ “मोबाइलमा धेरै समय त बिताउँदिनँ तर बजारमा आएका नयाँ मोडलका मोबाइलमा भने रुचि लाग्छ ।” उहाँले नेपाल टेलिकमको सिम प्रयोग गर्ने नायिका थापा राम्रो नेटवर्क नभएकोमा भने असन्तुष्टि व्यक्त गर्नुहुन्छ । मोबाइलका फाइदा धेरै देखिए पनि यसले पार्न थालेको शरीरिक र मानसिक प्रभावको बारेमा भने खासै चर्चा हुन सकेको छैन ।