• १५ चैत २०८०, बिहिबार

कतै खडेरी, कतै रोपाइँ

blog

रोपाइँ सकिएपछिको चिल्खायाको मार्सी जिउला । तस्बिर : प्रेमराज सिम्खडा

नवलपरासी समाचारदाता

कावासोती, असार ३ गते । केही दिनदेखि हावाहुरी र आँधीले पानी परिहाल्छ कि भन्ने आशा पलाए पनि पानी पर्न सकेको छैन । विगत चार महिनादेखिको लामो खडेरीले नवलपरासीपूर्वका किसानलाई सबैभन्दा चिन्तित बनाएको छ । नवलपरासीपूर्वमा अहिलेसम्म पानी पर्न नसक्दा किसानले खेतमा लगाएको मकै, तरकारी सबै सुकेर जाँदा यो वर्ष २० करोडभन्दा बढीको बाली नोक्सानी भएको मध्यबिन्दु नगरपालिका–१, पतवरीका किसान ईश्वरी महतोले बताउनुभयो । 

नवलपरासीपूर्वमा धान बालीपछि मकै बाली बढी लगाइन्छ तर अहिलेको लामो खडेरीले मकै बाली पूरै नष्ट हुँदा यस पटक खाद्यान्न किनेर जोहो गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । जिल्लाको आठै पालिकामा यति बेला चार महिनादेखि पानी परेको छैन । सिँचाइ सुविधा नहुँदा किसानको मकै र तरकारी बारीमा नै सुकेर गएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले जिल्लामा मकै र तरकारी खेतीतर्फ किसानको आकर्षण बढे पनि लामो खडेरीले किसानलाई यस पटक गाह्रो भएको बताउनुभयो । नवलपरासीपूर्वमा तरकारी र मकै खेती करिब १५ हजार हेक्टरमा लगाइने गरिन्छ र यो खेती किसानका लागि जीविकोपार्जन मात्रै नभएर राम्रो आम्दानीसमेत लिन सक्ने बालीका रूपमा रहेको छ । 

मार्सी धानको रोपाइँ सम्पन्न

यसैबिचधध कालीकोट समाचारदाताका अनुसार कालीकोट जिल्ला तिलागुफा नगरपालिका चिल्खायाका खेतमा मार्सी धान रोपाइँ सकिएको छ । जिल्लाकै राम्रो मार्सी उत्पादन हुने चिल्खायामा धान मौलाउन थालेको छ । जेठको पहिलो साताबाट सुरु भएको मार्सी जिउलाको रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषक सरिता शाहीले जिउलाको पूर्वउत्तरतर्फका खेतमा मार्सी रोपाइँ सकिएको बताउनुभयो । 

उहाँले यतापट्टिको रोपाइँ सकिएको र अब गहुँ खेती भएको खेतमा गहुँ काट्दै रोपाइँ जारी रहेकाले केही दिनमा सकिने बताउनुभयो । पछिल्लो समय मार्सी धानको महत्व बढेपछि किसानले पनि त्यसमा जोड दिन थालेका छन् । गाउँमै मार्सी चामलको मूल्य प्रतिकिलो दुई सय रुपियाँमा बिक्री भइरहेको छ । आफूले उत्पादन गरेको खाद्यवस्तुको राम्रो मूल्य पाउन थालेपछि किसान उत्साहित भएर खेतीतर्फ आकर्षित भएका छन् । तिलागुफा–९ मा पर्ने मार्सी खेतमा तराईजत्तिकै धान फल्ने गरेको छ । वडा नं. ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले किसानको सक्रियतामा वडा तथा नगर सरकारले साथ दिन नसकेको बताउनुभयो । तिलागुफा–९ का बिर्ख सुनारले अन्य सडक, विद्यालय भवन, खानोपानी, सिँचाइ कुलामा सहयोग गरे पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई खेत सिँचाइका लागि कुलाको मर्मतसम्भार भए हुन्छ, अरू खेतमा हाल्ने मल, जोत्ने उपकरण खासै चाहिएको छैन ।”