• ८ वैशाख २०८१, शनिबार

चोरको बिगबिगी, नगद र गरगहना चोरी

blog

फाइल तस्बिर

तिलाचन पाण्डे

तम्घास, असार २ गते । गुल्मीमा बैङ्क तथा घर तोडफोड गरी नगद र गरगहना चोरी भएको छ । चोरी हुँदा पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । 

बिहीबार राति सत्यवती गाउँपालिका –१, अस्लेवामा जीतबहादुर मिदुनको घरमा शङ्कर थापाले सञ्चालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको  करिब ३० हजार नगद, सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन, मति पाण्डेको घरबाट पुराना सामग्री चोरी भएको वडा अध्यक्ष अर्जुन कनौजेले जानकारी दिनुभयो ।

शुक्रबार अर्को वडा लिम्घामा रहेको  कुमारी बैङ्कको ब्रान्चलेस बैङ्किङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको कनौजेले बताउनुभयो । यसरी गाउँमा चोरको बिगबिगी हुँदा प्रहरी प्रशासन भने मौन देखिएको स्थानीयले बताउँदैआएका छन् ।  

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविनकिशोर प्रधानले चोरीका घटनाका उजुरी आएको बताउनुभयो । जिल्लामा चोरीका घटना बढेकाले अनुसन्धानका लागि ७५ जनाको अप्रेसन फोर्स गठन गरी परिचालन भएको बताउनुभयो ।

घटनामा स्थानीयहरूको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उहाँले  स्थानीयलाई आग्रह गर्नुभयो । सो क्षेत्रमा स्याङ्जा र गुल्मीको सिमाना पनि भएकाले चोरीका घटनाहरू बढ्दैगएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उहाँको भनाइ छ ।

अस्लेवामा चोरी हुँदाको अर्को दिन स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरूमा तोडफोड गरी चोरी भएको थियो ।