• १३ वैशाख २०८१, बिहिबार

सवारीसाधनमै नागरिकता प्रदान

blog

तम्घास समाचारदाता

तम्घास, असार २ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले अपाङ्गता भएका दुई जनालाई सवारीसाधनमै नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयको परिसरमा नागरिकता लिन पुगेका जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर–१ निवासी पार्वती थापामगर र वडा नम्बर–५ निवासी निर्मल खरेललाई पहिलो प्राथमिकताका साथ प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसहितका टोलीले सवारीसाधनमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ।

नागरिकता लिने थापा र खरेल जन्मजात पूर्ण रूपमा अपाङ्गता भएका व्यक्ति भएको र अपाङ्गता भएकै कारणले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन। नागरिकता प्राप्त गरेपछि पार्वती थापाकी आमा छमी थापाले अब राज्यबाट प्राप्त हुने सबै सेवासुविधा प्राप्त गर्नका लागि सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो। 

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको सहयोगमा गाडीमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो। पूर्ण अपाङ्गता भएका पार्वती र निर्मल नागरिकता बनाएपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहज हुने आफूहरूले विश्वास लिएको प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो।