• ८ वैशाख २०८१, शनिबार

युवा जनशक्ति पलायनको जोखिम

blog

पछिल्लो आर्थिक सर्भेक्षण अनुसार गत फागुन २०७९ सम्म वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ५५ लाख २६ हजार नाघेको छ । त्यसमध्ये पुरुष ९४.४ प्रतिशत र महिला ५.६ प्रतिशत छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ८० हजार नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि अनुमतिपत्र लिएका छन् । यस अवधिमा विदेश पढ्न जाने नेपाली विद्यार्थीबाट ६७ अर्ब १९ करोड रुपियाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले ६८ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सम्बन्धित देशमा पु-याएका थिए ।

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार २०६५ देखि २०७८ सालसम्मको १३ वर्षको अवधिमा चार लाख १६ हजार ३४४ जना नेपाली विद्यार्थीले विदेशमा उच्च शिक्षा अध्ययनका लागि नो अब्जेक्सन पत्र लिएका थिए । शिक्षा मन्त्रालयले हाल वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि दैनिक पाँच सयको हाराहारीमा नो अब्जेक्सन पत्र जारी गर्ने गरेको छ । अध्ययनका लागि अमेरिका, अस्ट्रेलिया, जापान तथा क्यानडा होस् वा श्रमका लागि खाडी, कोरिया वा मलेसिया होस्; देशको भर्भराउँदो युवा जनशक्ति विदेशिने क्रम कति कहालीलाग्दो छ भन्ने कुरा माथिका तथ्यले देखाउँछ ।

आफ्नो देशमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौँ युवा कामका लागि विदेशिने गरेका छन् । दैनिक करिब एक हजार ५०० व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्कले देखाउँछ । औसतमा ६० प्रतिशतभन्दा बढी घरधुरीबाट कोही न कोही वैदेशिक रोजगारीमा रहेको देखिन्छ । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देश खुला गरेको छ । देशको कुल गार्हस्थ उत्पादनको अनुपातमा एक चौथाइभन्दा धेरै हिस्सा ओगटेको वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत मात्र नभई मुलुकको अर्थतन्त्र धान्ने टेको पनि बनिरहेको छ । त्यस्तै देशमा गुणस्तरीय उच्च शिक्षा र त्यसपछिको रोजगारीको सुनिश्चितता हुन नसक्दा बर्सेनि हजारौँ मेधावी प्रतिभा अध्ययन तथा जागिरका अवसर खोज्दै पश्चिमा मुलुकमा छिरिरहेका छन् । श्रमका लागि खाडी पस्ने युवाबाट मुलुकले रेमिट्यान्सका रूपमा आर्थिक लाभ लिइरहेको भए पनि अध्ययनका लागि विकसित मुलुकमा छिर्ने युवाबाट भने दोहोरो मार बेहोरिरहेको छ । एकातर्फ मुलुकको भविष्यका बौद्धिक जनशक्ति देशले गुमाइरहेको छ भने अर्कोतर्फ उनीहरूको शुल्क तथा खर्चका लागि वार्षिक रूपमा अर्बौं रुपियाँ विदेश पठाउनु परिरहेको छ । अध्ययनका लागि विकसित मुलुकमा गएका युवाबाट मुलुकले हालसम्म उल्लेख्य रूपमा उनीहरूको आम्दानीबाट लाभ प्राप्त गर्न सकेको छैन । अध्ययनका लागि बिदेसिएका युवा जनशक्ति उनीहरूले भनेको उच्च अध्ययन पूरा गरेपछि नेपाल फर्किएका घटना पनि विरलै हुने गर्दछन् । 

जनगणनाको तथ्याङ्क अनुसार नेपालमा १५ देखि ५९ वर्षको उमेर अर्थात् काम गर्न सक्ने ऊर्जाशील उमेरको जनसङ्ख्या कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत रहेको छ । अर्थात् सयमा करिब ६२ जना मानिस श्रम गर्न सक्ने उमेरका छन् । यसको अर्थ अहिले नेपालले सर्वाधिक जनसाङ्ख्यिक लाभ लिनुपर्ने समय हो । जनसङ्ख्या वृद्धिदर निरन्तर ओरालो लागिरहेको परिप्रेक्ष्यमा अबका २०/२५ वर्षपछि मुलुकमा बुढ्यौलीमा प्रवेश गरेको जनसङ्ख्याको बाहुल्य हुने छ । त्यस्तो अवस्थामा नेपाल पनि अहिलेका युरोपेली मुलुक, जापान, कोरिया तथा सिङ्गापुरमा जस्तै सक्रिय उमेर समूहका जनशक्तिको न्यूनता रहेको जनसाङ्ख्यिक समस्याको गर्तमा प्रवेश गरिसकेको हुने छ । त्यसैले यो समय हाम्रो मुलुकको पुँजीका रूपमा रहेका युवाशक्तिलाई मुलुकमै टिकाउन र उनीहरूबाट उच्चतम लाभ लिनुपर्ने तथा मुलुकको विकासमा अत्युत्तम रूपमा परिचालन गर्नुपर्ने बेला हो । विडम्बना यो अवस्थामा जोश र जाँगरले भरिपूर्ण, ऊर्जावान्, उर्वरशील र उत्पादनशील उमेर समूहका युवाले विदेशमा आफ्ना ऊर्जा, श्रम र समय खर्चिरहेका छन् । नेपालबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति १८ देखि ४४ वर्ष उमेर समूहभित्रका छन् । जसमध्ये आधा त २५ देखि ३४ वर्षसम्मको रहेको तथ्याङ्क छ । जनगणनाको तथ्याङ्क अनुसार हाल देशका १५ लाख ५५ हजार परिवारबाट २१ लाख ९० हजार जना मानिस विदेश गएका छन् ।

बर्सेनि चार/पाँच लाख युवा वैधानिक रूपमा श्रमका लागि बिदेसिने गरेको देखिन्छ । अवैधानिक रूपमा बिदेसिने त कति छन्, त्यसको तथ्याङ्क हुने कुरै भएन । कहिले अफगानिस्तान, मध्यपूर्व तथा अफ्रिकी देश र कहिले दक्षिण अमेरिकी देशमा समेत पछिल्लो समय नेपालीले ज्यान गुमाउने, पक्राउ पर्ने तथा अलपत्र पर्ने घटनामा वृद्धि हुँदै गरेबाट अवैधानिक रूपमा बिदेसिनेको सङ्ख्या भयावह रहेको सहजै अनुमान गर्न सकिन्छ ।

विगत द्वन्द्वकालमा युवा बिदेसिनुपर्ने कारक तत्वको दोष सशस्त्र द्वन्द्वको थाप्लोमा हालिदिए पुग्थ्यो । शान्ति सम्झौतापछि पनि आधा करोडभन्दा धेरै नेपाली युवा परिवारको हातमुख जोर्नका लागि बिदेसिएको तथ्याङ्कले युवा पलायनको खास कारण द्वन्द्व मात्र रहेन छ भन्ने देखाएको छ । एक दशकसम्मको द्वन्द्व अन्त्य भएर शान्ति प्रक्रियाको समापन र संविधान निर्माण भइसक्दासम्म पनि राजनीतिक सङ्व्रmमण अन्त्य हुन नसक्दा देशमा आशातित विकासका कार्य हुन सकेनन् । जसले गर्दा देशभित्र रोजगारीका अवसर छोटिँदै गएपछि युवा पलायन डरलाग्दो गरी बढेको छ । ऊर्जाशील तथा देश विकासका लागि अत्यावश्यक युवाशक्ति सुरक्षित भविष्यको खोजीमा एक पछि अर्को गर्दै श्रम तथा विवेक बेच्नका लागि विदेशिने क्रम बढ्नुले नेपाली समाजको भविष्य निकै कमजोर बनिरहेको तथ्यलाई इङ्गित गरिरहेको छ । 

तथ्याङ्क अनुसार नेपालको श्रम बजारमा वार्षिक करिब पाँच लाख सक्रिय युवा श्रमशक्तिको प्रवेश हुने गर्छ । राष्ट्रिय श्रम बजारमा बर्सेनि प्रवेश गर्ने युवाशक्तिमध्ये ८० प्रतिशतभन्दा बढी रोजीरोटीको खोजीमा बिदेसिन बाध्य छन् । देशमा श्रमको माग तथा आपूर्तिको बिचमा ठूलो खाडल रहेको तथा दक्ष जनशक्ति र रोजगारी सिर्जना समेत आशातित रूपमा वृद्धि हुन नसकेको अवस्था छ । नेपाली श्रम बजारमा रोजगारी अवसरको कमी, न्यून पारिश्रमिक, बढ्दो महँगी, सबै प्रकारको श्रमको कदर नगर्ने नेपाली संस्कार, शिक्षा, सूचना र प्रविधिको विकासले नेपाली युवामा बढाएको महत्वाकाङ्क्षा तथा वैदेशिक रोजगारीप्रतिको मोहका कारण नेपाली युवा बिदेसिने क्रम बढेको बढ्यै छ । उच्च शिक्षाका लागि युरोप, अमेरिका, जापान तथा अस्ट्रेलियालगायतका देशमा जाने युवाको मोह डरलाग्दो गरी झ्याङ्गिइरहेको छ ।

तीनै तहका सरकारहरूले युवा पलायनलाई रोक्नका लागि कुनै पनि ठोस कार्यक्रम ल्याउन सकेका छैनन् । देशमा पूर्वाधार निर्माणका लागि स्वदेशी श्रमशक्तिको अभाव छ तर पूर्वाधार निर्माणको क्षेत्रमा युवाको श्रमको सदुपयोग गर्न सकिएको छैन । एकातर्फ देशका श्रममूलक क्षेत्रमा जनशक्तिको अभाव खट्किँदै छ भने अर्कोतर्फ परिवार पाल्न विदेश हानिने युवाको सङ्ख्या बढ्दै छ । विदेशमा ज्यान गुमाउने, अलपत्र पर्ने तथा ठगिएर घर न घाटको हुने युवाको ताँती पनि बढिरहेको छ । विप्रेषण आय नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ । त्यसैले युवा विदेश नजाँदा सरकारको टाउको दुख्ने अवस्था सिर्जना भएको छ । वैदेशिक रोजगारीबाट देशभित्र पैसा भित्र्याउनु र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनुलाई नराम्रो भन्न सकिन्न तर जुन रूपमा देशका कर्मशील युवाको पलायन बढ्दै गएको छ र गाउँबस्ती तथा सहर समेत क्रमशः युवाविहीन बन्दै गएका छन् । यसले अन्धकार भविष्यतर्फ देशलाई डो-याइरहेको छ । 

अहिले युवाको पौरखले डलर प्राप्त भएर सरकार मक्ख बने पनि उर्वर युवाशक्ति विदेश पलायन हुनुले देशको अर्थतन्त्र र समग्र विकासमा निकै नकारात्मक दीर्घकालीन असर पु-याउने पक्का छ । यसले हाम्रो आम्दानी र अर्थतन्त्रलाई परनिर्भर बनाउँदै लगेको छ । देशको उत्पादनशील श्रमशक्ति स्वदेशी श्रमबजारबाट पलायन हुँदा औद्योगिक उत्पादन पनि नराम्ररी खस्केको अवस्था छ । देशभित्र रोजीरोटीको व्यवस्था हुन नसकेका कारण बिदेसिएका युवासँगै देशको भविष्य पनि बाहिरिँदै छ । उत्पादनशील जनसङ्ख्याको बहिर्गमनसँगै उत्पादन घट्दै छ, आयात बढेर निर्यातमा बढोत्तरी भएका कारण व्यापार घाटा पनि चुलिँदै छ । यस अर्थमा वैदेशिक रोजगारी राष्ट्रिय अर्थतन्त्रका लागि कृत्रिम हर्मोन त हो तर यसका साइड इफेक्ट निकै धेरै छन् । अझ वैदेशिक रोजगारीको दिगो गन्तव्यको अभाव, प्रतिस्पर्धी बन्दै गइरहेको अन्तर्राष्ट्रिय श्रम बजार र नेपाली श्रमिकमा दक्षताको कमीले गर्दा तत्कालका लागि गर्जो टारिदिएको वैदेशिक रोजागारीको बाटोसमेत थुनिने खतरा बढ्दै छ । हातमा शैक्षिक योग्यताका प्रमाणपत्र बोकेर जागिर खोज्दै दिनभर सडक नापिरहने युवाले देशभित्र भविष्य देखेका छैनन् । यसले दक्ष तथा शिक्षित युवाशक्तिको ब्रेन ड्रेन बढिरहेको छ । शिक्षित युवा बेरोजगारी चरम मात्रामा हुनु, श्रम क्षेत्रमा न्यूनतम आयआर्जन तथा तलबभत्ताको ग्यारेन्टी नहुनु, सामाजिक सुरक्षाको अवस्था कमजोर हुनु, शिक्षा तथा स्वास्थ्य र जीवनयापनसमेत निकै महँगो र धान्नै नसकिने बन्नु, रोजगार बजारमा नातावाद, कृपावाद र आफ्नो मान्छे प्रवृत्ति मौलाउनु जस्ता कारणले युवा वर्गमा चरम निराशा छाएको अवस्था छ । दलीय स्वार्थका कारण सक्षम युवाले समेत काम नपाउने र नेताको चाकडी गरेकै भरमा असक्षमले पनि राम्रै ठाउँ बनाउने प्रवृत्तिले समाजलाई भ्रष्टीकृत गर्दै लगेको छ । औपचारिक शिक्षासमेत केवल सैद्धान्तिक, गुणस्तरहीन, अव्यावहारिक तथा अनुत्पादनशील भएका कारण शिक्षित बेरोजगारको सङ्ख्या बढिरहेको छ । शिक्षित युवाका कि त हातमा सर्टिफिकेट बोकेर भौँतारिरहनु कि त जसोतसो सिमाना काट्ने चाँजोपाँजो मिलाउनु, यिनै दुई विकल्प बाँकी छन् । 

देशका अधिकांश गाउँमा युवा भेटिँदैन, वृद्ध र महिला मात्र भेटिन्छ । मर्दा मलामी र बिहेमा जन्ती जानेमा वृद्ध र महिला मात्रै हुन्छन् । युवा घरपारिवार छोडी कामका लागि बिदेसिनु परेको छ । उर्वर उमेरमा श्रीमान्श्रीमती सँगै बस्न पाएका छैनन् भने केटाकेटीले बाबुको माया र स्नेहबाट वञ्चित हुनु परेको छ । जवानीमा परिवार छोडेर विदेशमा वर्षौंसम्म बस्दाको सामाजिक लागत ठूलो हुन्छ । वैदेशिक रोजगारीबाट फर्केपछिको पारिवारिक पुनर्मिलन पनि धेरै जटिल हुने गरेको अवस्था छ । आफ्नो ऊर्जाशील समय र श्रम विदेशको भूमिमा काम गरी बिताउनुपर्ने भएकाले उपयुक्त समयमा श्रमशक्तिको उचित परिचालन गरी देश विकास हुनबाट सधैँ वञ्चित नै रहन्छ । विदेशमा लामो समयसम्म काम गरी थकित शरीर र ढल्दो उमेरको अवस्थामा अर्थात् काम गर्न नसक्ने भएपछि स्वदेश फर्कने हुँदा देशमा वृद्धको जनसङ्ख्यामा बढोत्तरी हुनुका साथै राज्यलाई भविष्यमा स्वास्थ्य उपचार र सामाजिक संरक्षणका लागि ठुलो धनराशि खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिन्छ ।

अहिले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स देशको अर्थतन्त्रको मेरुदण्ड बनेको छ र युवाको विदेश गमन राष्ट्रिय अर्थतन्त्रका लागि सुखद विषय जस्तै बनेको छ तर रेमिट्यान्सको लोभमा युवा पलायन भएको टुलुटुलु हेरेर बस्न राज्यको नैतिकताले दिँदैन । देशभित्र भविष्य नदेखेर बिदेसिने प्रतिभाशाली तथा सक्षम युवालाई देशभित्रै सुन्दर भविष्यको छनक पाउने अवस्था सिर्जना गर्न सकिएन भने देश गम्भीर दुर्घटनातर्फ जाने छ । त्यसैले युवाको क्षमतालाई सकेसम्म देशभित्र सही उपयोग गर्ने र युवा पलायन रोक्ने उपायको खोजी गरी युवाविहीन अवस्थाबाट देशलाई बचाउन राज्य दत्तचित्त हुनै पर्छ । 

लेखक महिला अधिकारवादी हुनुहुन्छ ।  

Author

मीना मरासिनी