• ६ चैत २०८०, मङ्गलबार

स्वास्थ्य शिविरबाट चार सय महिला लाभान्वित

blog

चरीकोट समाचारदाता

चरीकोट, असार २ गते   ।   दोलखाको तामाकोशी गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी महिला लाभान्वित भएका छन्। गाउँपालिकाले आयोजना गरेको यो शिविरमा महिलाको आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी समस्यालगायतको स्वास्थ्य जाँच गरिएको गाउँपालिकाले जनाएको छ।

सो गाउँपालिकाको वडा नं. १  भिरकोटकी मेनुका कटुवालले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने मौका पाउँदा खुसी भएको बताउनुभयो। शिविरमा सहभागी अर्का स्थानीय महिला टीकामाया काफ्लेले भन्नुभयो, “मेरो पिसाबमा समस्या छ, पिसाब पनि पोल्छ, त्यसैले बिहानै उठेर घरको काम सकेर आफ्नो स्वास्थ्य जाँच गराउन आएको बताउनुभयो। स्वास्थ्य क्याम्पमा पुगेर उपचार पनि भयो, निःशुल्क रूपमा औषधी पनि पाइयो,” उहाँले भन्नुभयो। 

यस्तै लक्ष्मी माझीलाई पनि निद्रा नलाग्ने, पिसाब पोल्ने, पिसाब धेरै लाग्ने समस्या सुनाएपछि डाक्टरले औषधी दिएको र विभिन्न रोगको परीक्षण गर्न पाएको बताउनुभयो। 

परीक्षणका क्रममा २७ जनामा पाठेघर खस्ने समस्या देखिएको र पाठेघरको मुखको भिआइए जाँच गर्दा छ जनामा पोजिटिभ देखिएको र केही महिलामा पाठेघरको मुखमा जटिल खाले समस्या देखिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रको भनाइ छ। आठ जनाको बायोप्सीका लागि स्वाब सङ्कलन गरी धुलिखेल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो। पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाको शल्यक्रिया गर्न काठमाडौँ र जिल्लाका अस्पताल जानु परेमा यातायात खर्च गाउँपालिकाले बेर्होने तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले बताउनुभयो।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रगति शाहका अनुसार महिलामा तल्लो पेट, पाठेघर, पिसाबको सङ्व्रmमणसम्बन्धी धेरै समस्या देखिएको छ। 

ग्रामीण भेगका अधिकांश महिलाले आफूभित्र रहेको गुप्त रोग अरूले केही भन्लान् कि भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै सञ्चालित शिविरबाट महिलाले धेरै लाभ लिन सक्ने भएकाले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।