• १६ चैत २०८०, शुक्रबार

सूचना प्रविधिको विकासले देशको समृद्धिमा सहयोग गर्छ : मन्त्री शर्मा

blog

सूचना, प्रविधि र इन्टरनेटसँग सम्बन्धित महिला सवाल विषयक कार्यक्रममा धारणा राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा। तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, जेठ ३२ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सूचना प्रविधिको विकासले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ।  

महिला सेवा संस्था, नेपालले बिहीबार दाङको घोराहीमा आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग भएको सूचना, प्रविधि र इन्टरनेटसँग सम्बन्धित महिला सवाल विषयक अन्तरक्रिया  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासले मुलुकलाई समृद्धि बनाउन सहयोग पुर्‍याउने बताउनुभएको हो। त्यसका लागि नागरिकले प्रविधिको सही सदुपयोग गर्न ध्यान दिनुपर्ने बताउनुभएको थियो। 

मन्त्री शर्माले भन्नुभयो,‘‘सूचना प्रविधिको विकास र पहुँच स्थापना गर्न सके यसले ठुलो सहयोग गर्नेछ। यसले देशको समग्र आर्थिक तथा सामाजिक विकासमा पनि महत्त्वपूर्ण योगदान गर्नेछ। त्यसका लागि प्रविधिलाई सही रूपमा प्रयोग गर्नुपर्छ।’’

मन्त्री शर्माले प्रविधिमैत्री सेवा विकासका लागि नेपाल सरकारले सन् २०२३ भित्र नेपालका सबै पालिकाको केन्द्रसम्म इन्टरनेट पुर्‍याउने लक्ष्य लिएको बताउनुभयो। गुणस्तरीय सेवा गाउँगाउँमा पुर्‍याउनका लागि सञ्चारलगायतका निकायले काम गरिरहेको बताउनुभएको थियो। 

इन्टरनेट तथा प्रविधिको विकासले महिलालाई काममा सहजतासँगै लैङ्गिक  असमानता अन्त्यका लागि समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। 

राजनीतिक तथा सामाजिक परिवर्तनले घरको भान्सामा सीमित हुने महिला सांसददेखि राष्ट्रपतिसम्म भएको भन्दै उहाँले अब महिलाले प्रविधिको प्रयोगलाई बढाउनुपर्ने बताउनुभयो। घरसँगै दोहोरो वा तेहोरो काम गर्नुपर्ने जिम्मेवारी भएका महिलालाई प्रविधिको प्रयोगले सहजता बनाइदिनेसमेत बताउनुभयो। 

मन्त्री शर्माले भन्नुभयो, ‘‘प्रविधिको विकासलाई सही सदुपयोग गर्न सके महिलाले काममा सहजतासँगै आम्दानी समेत लिन सकिन्छ। त्यसका लागि महिलाले प्रविधिको कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी लिनु आवश्यक छ।’’

उहाँले मोबाइललाई फोन गर्ने र फोटो खिच्ने मात्रै नभएर नयाँ नयाँ कुराको जानकारी तथा खोज अनुसन्धानका कार्यमा समेत लगाउन सक्नुपर्ने बताउनुभयो। प्रविधिको प्रयोग गर्न नजान्दा महिलाले दुःख पाउनुपर्ने अवस्थासमेत रहेको भन्दै त्यससम्बन्धी समेत महिलाले जानकारी लिनुपर्ने बताउनुभएको थियो। 

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्न सरकारले काम गरिरहेको बताउनुभयो। मन्त्री शर्माले भन्नुभयो, ‘‘सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुन निर्माणको काम गरिरहेको छ। कानुन निर्माण गरेपछि संसदमा पेस गर्ने तयारी गरिरहेको छ।’’ 

मन्त्री शर्माले दुई दशकको अवधिमा सबैभन्दा तीव्र गतिमा नेपालमा विकास भएको प्रविधि भनेकै इन्टरनेट भएको बताउनुभयो। मन्त्री शर्माले भन्नुभयो,‘‘मोबाइलसँगै घरघरमा इन्टरनेट भन्दा मानिसले प्रत्याउँदैन थिए, यो सम्भव हुँदैन भन्थे। तर आज आएर त्यो सम्भव भएको छ। घरमामा मोबाइलसँगै इन्टरनेट पुगेको छ।’’