‘गोरखा भूकम्पको मुख्य केन्द्रबिन्दु बारपाक कोटडाँडा’

बारपाक, जेठ १ गते । गत वैशाख १२ गते आएको ‘शक्तिशाली भूकम्प’को केन्द्रबिन्दु समग्रमा बारपाक भएको खानी तथा भूगर्भ विभागले जनाए पनि स्थानीयवासी बारपाकको कोटडाँडा त्यसको पनि झन् मुख्य केन्द्रविन्दु भएको अनुमान गर्छन् ।

कोटडाँडामा रहेको कोटदेवी रिसाएर नै भूकम्प गएको हुन सक्ने उनीहरूको अन्धविश्वासी मत छ, जहाँ प्रत्येक वर्ष बडादसैँ र चैतेदसैँमा पूजाआजा गरिन्छ । बारपाक–५ का नन्द घले भन्नुहुन्छ– “त्यस दिन कोटडाँडामा आगोको ज्वाला निस्किएजस्तो देखियो र वरिपरिका डाँडा मात्र कहाँ हो र गाउँ नै डुग डुग डुग गरेर हल्लाउन घरहरु धमाधम ढल्न थाले, बादल उठेजस्तो भएर वरिपरि देख्नै नसकिने भयो ।”

नागपूजा गर्ने चौरमा डुलिरहनुभएका वडा नं ८ का विदेश घले भन्नुहुन्छ “कोटडाँडामा बिजुली चम्किएजस्तो देखियो, त्यसपछि जमिन यसरी हल्लियो कि आफू बसेको ठाउँ चिरा पर्लाजस्तो भयो र भास्सिएर त्यहीँ नै परिने हो कि जस्तो भयो ।” “आफ्ना बाबुले पनि घर अगाडिको त्यही डाँडामा आगोको ज्वाला निस्केको देखेको बताउनुभएको थियो” उहाँ भन्नुहुन्छ ।

वडा नं ७ थालिवारका आसमान विकको भनाइमा आरनमा काम गरिरहेका बखत आफ्नै घर माथिबाट हेलिकोप्टर उडेको जस्तो लागेर हेर्न बाहिर निस्किएको त कोटडाँडामा आगोका ज्वालासँगै धुँवा आएको देखियो, त्यसपछि त आफू वरिपरिका सबै घर हल्लिएर ग¥याम ग¥याम ढल्न थाले ।

आफ्ना साथीसँग गफ गरेर बस्नुभएका वडा नं ६ का आयोबहादुर घले पनि बारपाकको कोटडाँडा नै भूकम्पको केन्द्रबिन्दु भएको अनुमान गर्दै भन्नुहुन्छ– सुरुमा आफूलाई तलबाट माथि धकेलेको जस्तो लाग्यो, अनि उठेर वरिपरि हेर्दा त कोटडाँडा र अन्य डाँडा केहीबेरसम्म हल्लिरहेको देखेँ, यसपछि त वरिपरिका घर मात्र होइन आफूहरु पनि नाचिरहेका छौँ जस्तो भयो, अनि त वरिपरिका घर भत्किएर धुँवा उडेजस्तो भयो ।

राङरुखोलादेखि बारपाकको वडा नं २ स्थित मान्द्रेडाँडा र त्यसमाथि रहेको विभिन्न सञ्चार उपकरणका टावरसम्मको भूभागमा चिराचिरा पारेर सुख्खा भूक्षय भएको देख्नुभएका पत्रकार दीपेन्द्र रावल भने भूकम्पको केन्द्रबिन्दु बारपाकको यही मान्द्रे डाँडो नै हो कि भन्ने अनुमान गर्नुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना