उपराष्ट्रपतिको कार्यालय लैनचौर सर्ने

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २ गते । उपराष्ट्रपतिको कार्यालय एक महिना पछि बहादुरभवन कान्तिपथबाट लैनचौरस्थित नयाँभवनमा सर्ने भएको छ ।
सरकारले गत वर्ष जेठमा समाज कल्याण परिषद्ले प्रयोग गर्दै आएको सो भवनलाई उपराष्ट्रपतिको आवासीय सुविधासहितको कार्यालय बनाउने निर्णय गरेको थियो ।
उपराष्ट्रपति कार्यालयका प्रवक्ता तेजराज पाण्डेले नयाँ वर्ष–२०७६ को दिन पारेर सर्ने योजना हो, तर त्यो दिनमा सम्भव नभएपछि बैशाख १५ गतेसम्म सरिसक्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
समाज कल्याण परिषद् फागुन २२ गतेबाट ललितपुर पुल्चोकस्थित केन्द्रीय बालकल्याण समितिको भवनमा सरिसकेको छ । उपराष्ट्रपतिको आवास तथा कार्यालय निर्माण तथा सुरक्षा व्यवस्थापनका लागि भवन निर्माण कार्य जारी रहेको छ ।
नयाँ कार्यालय मुख्य सडकसँगै भएकाले पर्खाल अग्लो र सुरक्षित बनाउने, सुरक्षा निकायका लागि आवासगृह (ब्यारेक) निर्माण तथा उपराष्ट्रपति आवास र कार्यालय निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो ।
सवारी सञ्चालनका लागि उत्तर र पूर्वी मोहडामा गरी दुईटा प्रवेशद्वारको व्यवस्था गरिएको छ । उत्तरी मोहडाको पुरानोलाई मुख्य प्रवेशद्वार र पूर्वतर्फको प्रवेशद्वारलाई वैकल्पिक रुपमा प्रयोग गरिने भएको छ ।
करिब २८ रोपनी १४ आना जमिनमा कलात्मकशैलीको चारतले पुरानो भवन रहेको छ । यो भवनको चौथो र तेस्रो तल आवास र दोस्रो तला र भुर्इंतला कार्यालय सञ्चालनमा प्रयोग हुने बताइएको छ ।
उपराष्ट्रपतिको कार्यालय आयोजना हुने औपचारिक सभा समारोह र कार्यक्रम सञ्चालनका लागि एउटा छुट्टै ‘अडिटोरियम’ हल निर्माण गर्ने तयारी भइरहेको छ ।
सर्वसाधारण तथा सवारीसाधनको बाक्लो ओहोरदोहोर हुने सडक नजिक कार्यालय भएकाले बाहिरी पर्खाल १२ फिट अग्लो र त्यसमाथि काँडे तारजालीसहित चारै दिशामा सीसी क्यामेरा जडान गरिँदै छ । एक दर्जन सुरक्षा डिउटी पोस्टहरु स्थापना गरिएको छ ।
पुरानो भए पनि भूकम्प प्रतिरोधक भवनलाई रङरोगन गरी कलात्मक र सुविधायुक्त बनाइँदै छ उपराष्ट्रपति कार्यालयका प्रवक्ता पाण्डेले भन्नुभयो, जनशक्ति पनि थारै भएकाले आवासीय सुविधासहितको उपराष्ट्रपति कार्यालय सञ्चालन गर्न लैनचौर उपयुक्त नै छ ।
कार्यालयको प्रवेशद्वार नजिक बसस्टप (पिक एन्ड ड्रप ) र प्रतीक्षालय भएकाले सो स्थानलाई चार मिटर अगाडि सार्न आग्रह गरिसकेको छ । सुरक्षाको दृष्टिकोणले प्रतीक्षालय र बसस्टप सार्न पर्ने भएकाले सम्वन्धित निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
समाज कल्याण परिषद् समस्यामा
लैनचौरस्थित आफ्नै भवनबाट केन्द्रीय बाल कल्याण समितिको कार्यालय ललितपुरमा सरेको समाज कल्याण परिषद्को कार्यालय सञ्चालनमा समस्या देखिएको छ ।
ललितपुरस्थित बाल कल्याणको भवन पनि दुई वर्षका लागि मात्र हो परिषद्का प्रवक्ता शिवकुमार बस्नेतले भन्नुभयो, ‘त्यसपछि कहाँ सर्ने भन्ने समस्या छ ।’ कार्यालय अभावका कारण सङ्घ संस्था नवीकरणको काम भने भृकुटीमण्डपबाट हँुदै आएको परिषद्ले जनाएको छ ।
समाजकल्याण परिषद्को नाममा रहेको पुरानो बानेश्वरस्थित आठ रोपनी जग्गामा भवन निर्माण गर्ने योजना रहे पनि वजेटको अभावका कारण कार्यान्वयन हुन सकेको छैन । त्यस्तैं, प्रदर्शनीमार्ग टुकुचास्थित तरकारीबजार भाडामा प्रयोग हँुदै आएको छ ।
अर्थ मन्त्रालयको स्वामित्व रहेको भृकुटीमण्डप पनि समाज कल्याण परिषद्ले चर्चिदै आएको छ । सो जमिनलाई काठमाडौँ महानगरपालिकाले आफू मातहत ल्याउने तयारी गरेको छ ।
समाज कल्याण परिषद्का प्रवक्ता बस्नेतले लैनचौरस्थित समाज कल्याण परिषद् र भृकुटीमण्डप दुईटै जमिन परिषद्को नाममा दर्ता नभएकाले समस्या थपिएको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds