• १६ चैत २०८०, शुक्रबार

चित्रबहादुर केसीको प्रश्न : जिल्लामा कुन मुख लिएर जाने

blog

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । फाइल तस्बिर

काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताको गृह जिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरू कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गर्नुभयो । 

प्रधानमन्त्रीको गृह जिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा र अर्थमन्त्रीको गृह जिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग गर्नुभयो । 

सांसद केसीले आफ्नो जिल्ला र क्षेत्रमा बजेट पार्न मन्त्रीकहाँ जानुपर्ने अवस्था दुखद् भएको बताउनुभयो । उहाँले विद्यमान संरचना महिला र ज्येष्ठ नागरिकमैत्री नभएको र यस संरचनाबाट सन्तुलित विकास नहुने दाबी गर्नुभयो ।

स्वतन्त्र सांसद् डा. अमशेरकुमार सिंहले १२ प्रतिशतमात्रै पुँजीगत खर्च हुने मुलुकमा विकासको गति अगाडि बढ्न नसक्ने भन्दै मधेसमा दलित, चमार र मुसहर बस्तीका बालबालिकाको अनुहार हेरेर बजेट बनाउन माग गर्नुभयो ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका बजेटका शीर्षकमाथि छलफल भइरहेको छ । सम्बन्धित मन्त्री अनुपस्थित भएपछि युवा तथा खेलकुद मन्त्रालयको पूर्व निर्धारित छलफल कार्यसूचीबाट हटाइएको छ ।