• ४ वैशाख २०८१, मङ्गलबार

शून्य समय : सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

blog

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित सांसद । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ३२ गते । सांसदहरूले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज  (बिहीबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिशिर खनालले नेपालमा सडकमा हुने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताउनुभयो । “पछिल्लो एक दशकमा १९ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जुन १० वर्षीय सशस्त्रद्वन्द्वमा मारिनेकोभन्दा बढी सङ्ख्या हो”, उहाँले भन्नुभयो, “गत वर्ष भएका २४ हजारभन्दा बढी सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।” उहाँले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सिता मिजारले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै यसको न्यूनीकरणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद सुशीला श्रेष्ठले भुस्याहा कुकुरका कारण सवारी दुर्घटना बढेको बताउनुभयो । उहाँले पैदल यात्रीलाई कुकुरको आक्रमणले असुरक्षित बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद स्वर्णिम वाग्लेले सवारी दुर्घटनामा तत्काल उद्धारका लागि सरकारको तयारीमा थप सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक संस्थाको क्षयीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति र संस्थाको सम्पत्ति जर्गेना गर्नका लागि उहाँले जोड दिनुभयो ।

सांसद सन्तोष परियारले विश्वविद्यालयका शिक्षकमाथि हुने भौतिक आक्रमण र हमलाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हरि ढकालले रामपुर कृषि विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग गर्नुभयो ।

सांसद हितराज पाण्डेले आन्दोलनरत विद्यालयस्तरका कर्मचारीको जायज माग सम्बोधन गर्न माग गर्नुभयो । सांसद सूर्य थापाले सार्वजनिक विद्यालयका कार्यालय सहयोगीका जायज माग पूरा गरी नियमित काममा फर्काउन माग गर्नुभयो ।

सांसद सुमना श्रेष्ठले बालमन्दिर आयोगको प्रतिवेदन छलफलमा राख्नुपर्ने माग गर्दै राजनीतिक संरक्षणमा हुने अनियमितताप्रति प्रश्नसमेत गर्नुभयो । सांसद सोनु मुर्मुले मोरङ जिल्लाका सन्थाल बालबालिकाका लागि विद्यालयमा सहज पठनपाठनको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद बीना लामाले विद्यार्थीलाई यातना दिने विद्यालय र शिक्षकलाई कारबाही गर्न माग गर्नुभयो ।

बैठकमा बिजुला रायमाझीले वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी ठोस योजना नल्याएको भन्दै आलोचना गर्नुभयो । सांसद विद्या भट्टराईले पोखरा महानगरपालिकामा ढल निकास तथा वर्षायामको पानीको उचित व्यवस्थापन गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले यसको दीर्घकालीन समाधानका लागि बृहत् योजना बनाई काम गर्न माग गर्नुभयो ।

सांसद विनीताकुमारी सिंहले चुरेपर्वतको ढुङ्गा, बालुवा तथा गिट्टी उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य तत्काल रोक गर्न माग गर्नुभयो । सांसद विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचारको अवस्था भयावह बन्दै गएको भन्दै समयमा प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा नीतिगत भ्रष्टाचार फैलिएको भन्दै यसलाई अनुसन्धानको दायरामा समेट्नुपर्नेमा जोड दिनुभयो ।

सांसद श्यामकुमार घिमिरेले निर्माण आयोजना अलपत्र पार्ने ठेकेदार र काम सम्पन्न भइसक्दासमेत भुक्तानी नदिने सरकारमाथि कारबाही गर्ने गरी सार्वजनिक खरिद ऐनमा संशोधनको माग गर्नुभयो ।

सांसद शान्ति विकले जातीय विभेदका कारण हुने सामाजिक हिंसा र अन्यायप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शिव नेपालीले बागलुङका प्रभात बस्याललाई दलित भएकै कारण झुटो मुद्दा लगाइएको भन्दै गम्भीर छानबिनको माग गर्नुभयो ।

सांसद शेरबहादुर कुँवरले दार्चुलाको व्यास गाउँपालिका र टिङ्करलाई जनगणनामा समेट्न नसकेकोबारे जवाफ माग गर्नुभयो । सांसद शोभा ज्ञवाली पाँच सीमा नाका सञ्चालनको सम्झौताका बाबजुद बर्दियाको गुलरिया–मूर्तिया सीमानाका हालसम्म सञ्चालन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती सुब्बाले कृषिमा विभिन्न बीमाको प्रिमियम रकमको बक्यौता सरकारले तत्काल भुक्तानी गर्नुपर्ने बताउनुभयो । सांसद सराज अहमद फारुकीले कपिलवस्तुको औद्योगिक क्षेत्रलाई औद्योगिक कोरिडोरका रूपमा विकास गर्न माग गर्नुभयो ।

सांसद सरिता भुसालले तराई जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशको उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद शान्ति चौधरीले वन्यजन्तु संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वतर्फ पनि सचेत हुनुपर्ने बताउनुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको जिल्लामा अनिवार्य एम्बुलेन्स सेवा उपलब्ध गराउन माग गर्नुभयो । सांसद सूर्यप्रसाद ढकालले वर्षायाम सुरु भए पनि मलको अभावमा कृषकले खेती लगाउन नसकेको बताउनुभयो ।

सांसद सूर्यमान तमाङ दोङले ट्राफिक व्यवस्थापनका नाममा काठमाडौँ महानगरपालिकाले नागरिकलाई सास्ती दिन नहुने बताउँदै किसानलाई समयमा मल उपलब्ध गराउनसमेत माग गर्नुभयो ।  सांसद सोविता गौतमले देश जलवायु परिवर्तनको जोखिममा परेको बताउँदै यसका लागि राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय सन्धिको कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद हृदयराम थामीले सुर्खेत विमानस्थलको स्तरोन्नतिको माग गर्नुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले मन्त्रिपरिषद्को निर्णयअनुसार चितवन जिल्ला भरतपुर महानगरपालिकामा आधुनिक शिक्षक अस्पताल निर्माण योजना अलपत्र भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बीना जैसवालले नागरिकता नहुँदा नागरिकले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस