नगर साझेदारी कार्यक्रम सञ्चालनमा

नगेन्द्र सापकोटा

काठमाडौँ,   चैत १ गते । काठमाडौंँ जिल्लाका सबै नगरपालिकाको एकीकृत विकासका लागि काठमाडौंँ महानगरपालिकाले नगर साझेदारी कार्यक्रम सञ्चालन गरेको छ । त्यसका लागि हरेक नगरपालिकालाई महानगरपालिकाले सहयोग प्रदान गरेको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रको मात्र विकासले समग्र महानगरपालिकाको विकास सम्भव नहुने भन्दै महानगरपालिकाले काठमाडाँैं जिल्लाका १० वटै नगरपालिकासँग सहकार्य गरी नगर साझेदारी कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत १० वटै नगरपालिकामा सार्वजनिक जग्गा खोजी गरी सो ठाउँमा पार्क र धार्मिक तथा पर्यटकीय क्षेत्रको निर्माण गर्न लागिएको छ । महानगरपालिकाले १० वटै नगरपालिकालाई एक–एक करोड रूपियाँ प्रदान गरी नगर साझेदारी कार्यक्रम शुरू गरेको बताएको छ ।
अहिले काठमाडौंका १० वटै नगरपालिकामा सो काम धमाधम सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ । काठमाडाँैंका १० वटै नगरपालिकाको भौगोलिक क्षेत्रभित्रको विभिन्न सार्वजनिक स्थानमा हरियाली बृद्धि गर्दै रमणीय पार्क निर्माण गर्ने, धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलकोरूपमा विकास गरी काठमाडाँैं उपत्यकाको प्रदूषण घटाउने लक्ष्य काठमाडौंँ महानगरपालिकाको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रको विकास गरेर मात्र महानगरपालिकाको दिगो विकास नहुने बताउनुभयो । “महानगरपालिकाले जिल्ला भित्रका अन्य नगरपालिकाको विकासका लागि बजेट विनियोजन गरेरै काम गरिएको छ” उहाँले भन्नुभयो, ‘‘उपत्यकाको एकीकृत विकासका लागि नै हामी उपत्काका सबै नगरपालिका मिलेर काम गर्न तयार छौं, यस कार्यले अन्तरनगरपालिकाबीच आत्मियता बढ्नुका साथै समग्र विकासको आधार तयार हुनेछ ।’’

महानगरपालिकाले प्रदान गरेको सो रकमबाट कीर्तिपुर नगरपालिकाको वडा नं. १, २ र १० क्षेत्रलाई समेटी युद्धस्मारका पार्क निर्माण गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । शङ्खरापुर नगरपालिकाको वडा नंं ९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्ने मन्दिर क्षेत्रमा उद्यान, सार्वजनिक शौचालय, सिँढी, घेरा तथा पर्खाल, वनभोज क्षेत्र, सवारीसाधन पार्किङस्थल समेत निर्माण गर्ने तयारी भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा १ मा प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्ने महानगरपालिकाले योजना बनाएको छ । गोकर्णेश्वर नगरपालिकाको वडा ९ मा जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माण गर्ने, बुढानीलकण्ठ नगरपालिकाको वडा ८ मा देवल पार्क, पश्चिम नेपाल टेलिकम भद्रकाली शाखा कार्यालय र त्यस्तै करिब १४ रोपनी जग्गामा बुढानीलकण्ठ पार्क निर्माण गरिने बताइएको छ ।

तारकेश्वरको वडा ३ मा तारकेश्वर धाम निर्माण गर्ने उक्त धाममा आवत जावत गर्ने सिँढीमा वरपरका क्षेत्रलाई हरियाली बनाउने महानगरपालिकाले जनाएको छ । त्यस्तै, नागार्जुन नगरपालिकाको वडा ६ को डाँडापौवामा गणेश स्मृति पार्क निर्माण गर्ने, चन्द्रागिरी नगरपालिका वडा १३ मा कलङ्की मन्दिर क्षेत्र परिभ्रमण क्षेत्र पर्यापर्यटन पार्क निर्माण गर्ने योजना छ ।
दक्षिणकाली नगरपालिकाको वडा ५ स्थित गोरखनाथ मन्दिरबाट करिब तीनसय मिटर माथिसम्म परम्मपरागत सिँढी निर्माण गर्ने, बहुउद्देश्य उद्यान, झरना, बाल उद्यान, प्राचिन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी निर्माण गरिनेछ ।
टोखा नगरपालिकाको बौडेश्वर क्षेत्रमा पार्क निर्माणको योजना अगाडि बढाइएको छ । स्थानीय शासन विज्ञ डा. श्यामकृष्ण भुर्तेलले काठमाडौं महानगरपालिकाले शुरूगरेको यो अभियानले उपत्यकाको एकीकृत विकासको आधार तयार हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘महानगर क्षेत्रमा सार्वजनिक जग्गा छैनन् तर काठमाडौँभित्रका अन्य नगरपालिकामा थुप्रै सार्वजनिक जग्गा भएकाले जिल्लाकै एकीकृत विकासका लागि महानगरपालिकाले गरेको काम सकारात्मक छ ।’’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds