• १२ वैशाख २०८१, बुधबार

निर्माणाधीन पक्की पुल जोगाउन पुगेका सब इन्जिनियरको खोलाले बगाएर मृत्यु

blog

गोकुल भुजेल

भोजपुर, जेठ ३२ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगने स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब-इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बुधबार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राति १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । 

वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको प्रहरीको भनाई छ । एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर सुरक्षित भएका थिए । राई भने हाम फाल्न नसके पछि खोलामा बगेको केसीको भनाई छ । 

घटना लगतै प्रहरी चौकी पान्धारे र कोट बाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई बिहीबार (आज) बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।