• १३ वैशाख २०८१, बिहिबार

अदुवाको मूल्य प्रतिकिलो चारसय रुपियाँ पुग्यो

blog

धनकुटाका एक कृषक बारीबाट अदुवा निकाल्दै । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे 

हिले, जेठ ३१ गते । धनकुटामा अदुवा अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुन थालेको छ । अदुवा अहिले खुद्रा बजारमा प्रतिकिलो चारसय रुपियाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, होलसेलमा पनि प्रतिकिलो दुई सय ५० रुपियाँमा खरिदबिक्री हुन थालेको हो ।

एक हप्ता यता अदुवा उच्च मूल्यमा खरिदबिक्री हुन थालेको हो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य भएको धनकुटा हिलेका अदुवा व्यापारी भूपाल राईले बताउनुभयो । 

“१५० रुपियाँ प्रतिकिलो सम्ममा यसअघि खरिदबिक्री गरिएको अदुवाको मूल्य अहिले ह्वात्तै बढ्यो” राईले भन्नुभयो । यो सिजनमा अदुवाको माउ निस्किने सिजन हो । रोपिएको अदुवालाई उम्रिएपछि बीउ खनेर बिक्री गर्ने गरिन्छ । 

यो सिजनमा मूल्य उच्च भएकाले अदुवा गोदाममाभन्दा पनि खुद्रा बिक्रीका लागि बजार पुग्नेगरेको स्थानीय व्यापारीहरू बताउँछन् । जिल्लामा दुई सय ४६ हेक्टर क्षेत्रफलबाट चार हजार पाँच सय २१ मेट्रिक टन उत्पादन हुँदैआएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । यो सिजनमा स्टक अदुवा पनि सकिएको र माउ अदुवा पनि कम रहेकाले मूल्य उच्च भएको हुनसक्ने कृषि ज्ञान केन्द्र धनकुटाका सूचना अधिकारी सुरज खनालले बत्ताउनुभयो ।