डेढ शताब्दी पुरानो दरबार चर्कियो

इलाम, जेठ १ गते । वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण जिल्लाकै सबैभन्दा पुरानो अड्डा चर्किएर काम नलाग्ने अवस्थामा पुगेको छ ।विसं १९२० मा बडाहाकिम गजराजसिंह थापाको पालामा निर्माण भएको जिल्ला प्रशासनको डेढ शताब्दी पुरानो भवन चर्किएर बस्नै नहुने अवस्थामा पुगेको हो ।

उक्त भवनबाटै जिल्ला प्रशासनबाट सम्पादन हुने कार्य सञ्चालन भइरहेको थियो ।भवन जताततै चर्किएपछि अघिल्तिर रहेको एक तले भवनबाट सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताउनुभयो ।

राणाकालीन भवनबाट राहदानी, नागरिकता, मुद्दा, सङ्घसंस्था, दर्ता चलानी, अनुसन्धानलगायत सबै काम हुँदै आएको थियो ।जिल्लामा डेढ शताब्दी पुराना दुई ठूला भवन छन् । एउटामा जिल्ला प्रशासनको काम र अर्कोमा प्रमुख जिल्ला अधिकारीको निवास र उच्च ओहोदाका पाहुना आउँदा बस्ने गरिन्थ्यो ।

भवन चर्किएपछि प्रजिअ बासुदेव दाहाल जिल्ला कारागार शाखाको आवासमा र सहायक प्रजिअ आफन्तकामा बस्दै आउनुभएको छ । यो भवनसहित जिल्ला प्रहरी, मालपोत, इलाम नगरपालिकालगायत आधादर्जन सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जानकारी सहायक प्रजिअ फागोले दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना