• ५ वैशाख २०८१, बुधबार

संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह सुरु

blog

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य मन्त्री तथा पदाधिकारीहरु । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसिपुर, जेठ ३१ गते । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सुरु भएको छ । विश्वविद्यालयका कुलपति एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम भइरहेको छ । 

उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछानेले २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (बीएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी रहेको विश्वविद्यालयका पदाधिकारीले बताउनुभएको छ । 

दीक्षान्त समारोहमा प्रधानमन्त्रीसहित  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहभागिता छ । लामो समयसम्म दीक्षान्त समारोह नहुँदा विद्यार्थीले मूल प्रमाणपत्र प्राप्त नगरेका कारण विदेशमा पढ्न जानबाट वञ्चित हुँदैआएका थिए । 

आयुर्वेद स्नातक  तह (बीएएमएस) का विद्यार्थी पहिलो पटक दीक्षित हुन लागेका छन् । दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पुरस्कृत हुन लागेका छन् । दीक्षान्त समारोह सुरूपूर्व विश्वविद्यालय सभाको बैठक कुलपति एवम् प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले दीक्षित विद्यार्थीलाई मूल प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।