भूकम्पपीडितका लागि मनपरी राहत संकलन

नेपालगन्ज, वैशाख ३१ गते । वैशाख १२ गते आएको महाभूकम्पमा परेका पीडितका लागि भन्दै बाँकेको कोहलपुर क्षेत्रमा मनपरी तरिकाले जसले पायो त्यसले राहत संकलन गर्न थालेपछि समस्या भएकोे छ ।

संस्था पिच्छे ब्यानर र सहयोग रसिद बोकेर राहत संकलन गर्दा सहयोग गर्ने सहयोगदाता पनि समस्यामा परेका छन् । एक साताअघिदेखि सुरु भएको राहत संकलनमा कोहलपुर बजारमा मात्रै एक दर्जनभन्दा बढी समूह, क्लब, संघ संस्था लगाएतका प्रतिनिधीहरु ब्यानर र नगदी रसिद बोकेर हिंडिरहेका छन् ।
कतिपय संस्था तथा समूहले सस्तो लोकप्रियता कमाउन र प्रचारमा आउने होडमा समेत राहत संकलनमा जुटेको गुनासो स्थानीयले गर्न थालेका छन् । वास्तविक रुपमा मानविय संवेदनालाई ख्याल गरेर सहयोग तथा राहत उठाएको भए कोहलपुर नगरपालिकाले अनुरोध गरेको विभिन्न बैंकका खाताहरुमा भूकम्प पिडितका लागि नगद जम्मा गर्नुपर्ने स्थानीय हनीफ हलवाइले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले भुकम्प पीडितका लागि नगदबाहेक खाद्यान्न, लत्ताकपडा, खानेपानी र ड्राइफुड संकलन गर्नका लागि प्रशासनमा जानकारी गराउनु पर्ने निर्णय गरेपनि अधिकांश संघसंस्था तथा क्लबहरुले मनपरी ढंगले नगदसमेत संकलन गरिरहेका छन् ।
केही क्लब तथा संस्थाले आर्थिक सहयोग गरेवापत सहयोगदातालाई प्रदान गरिने नगदी रसिदमा संस्था तथा क्लबको छाप तथा सम्बन्धित निकायमा गरिएको दर्ता नंम्वर समेत उल्लेख नगरिएको पाइएको छ ।
जिल्लामा रहेका सामाजिक संघ संस्थाहरूले प्रशासनको अनुमति लिएर राहत संकलन गर्न पाउने जनाउदै जिल्ला प्रशासन कार्यालय बाँकेले त्यसो नगरिएको पाईएमा कारवाही गरिने जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद लेखकले प्रशासनलाई जानकारी नगराएर मनपरी तरिकाले नगद तथा अन्य राहात संकलन गर्ने कार्य भैरहेको गुनासो आएकोले अनुसन्धान गरी कारवाही गरिने बताउनु भयो । उहाले राहात दिन चाहनेहरुले प्रधानमन्त्री राहात कोषमा रकम जम्मा गर्न आग्रह पनि गर्नु भयो ।
अहिले कोहलपुर क्षेत्रका बजारमा राहत संकलनमा जुटेकाहरूले कसरी राहत संकलन गरिरहेका छन् भन्ने कुनै निकायबाट अनुगमनसमेत नभइरहेको पाइएको स्थानीयको भनाइ छ ।
जसले पायो त्यसले राहात संकलन गर्दा एउटै व्यापारी तथा व्यक्तिले धेरैपटक धेरैलाई राहत सहयोग गर्नु पर्ने अवस्था आइरहेको दाताहरुले बताएका छन् । उनीहरुले राहत संकलन गर्ने संस्थाहरूको अनुगमन नहुँदा मनपरी बढेको गुनासो गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना