• १३ वैशाख २०८१, बिहिबार

एकै ठाउँमा बसेर पढ्नुपर्दा सकस

blog

केशवराज पौडेल

काभ्रेपलाञ्चोक (कुशादेवी), जेठ २२ गते । पनौतीस्थित भालेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीलाई चार घण्टा एकै ठाउँमा बसेर पढ्नु हिँडुवालाई थुनेर सजाय दिएजस्तो लाग्छ । कुशादेवी माविका गणित शिक्षक छविरमण गौतमले अभिभावकलाई विद्यार्थीले पढेनन् भनेर गुनासो त गर्नुहुन्छ तर एक वर्षमा नयाँ के किताब पढ्नुभयो भनेर कसैले सोध्यो भने अनुत्तरित हुनुपर्छ । 

घण्टौँसम्म मोबाइलको स्क्रिनमा आँखा डुलाउँदा दिक्क नलाग्ने तर किताबका दुई पाना पढ्दा पनि अल्छी लाग्ने वा मन नै चञ्चल हुने अहिलेको साझा समस्या बनेको छ । यो समस्या ग्रामीण सामुदायिक सङ्गठनले आयोजना गरेको पठन शिविरमा केसी र गौतमले भोग्नुभयो । उहाँहरू मात्र नभई यस्तो अनुभव पठन शिविरमा सहभागी भएका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि र नागरिक समाजका अगुवाले पनि गर्नुभयो । 

भालेश्वर माविका सहायक प्रधानाध्यापक हरि तिमल्सिनाले बालबालिका मात्रै नभएर शिक्षकले समेत अचेल पढ्न छाडेको अनुभव सुनाउँदै यसले समग्र शिक्षा क्षेत्रमा ठुलो समस्या पारिरहेको गुनासो व्यक्त गर्नुभयो । 

“शिक्षकले नै नपढे विद्यार्थीलाई के पढाउने ? विद्यालय व्यवस्थापन समितिले नपढे शिक्षकलाई कसरी निगरानी राख्ने ? त्यसैले सत्य जाँच्न पनि अध्ययन आवश्यक छ” उहाँले भन्नुभयो ।  

पठन शिविरमा राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम, पनौती नगरपालिकाका वडा नं. २ र ३ का वडा अध्यक्षसँगै सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।

पनौती नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले चार घण्टासम्म धैर्य धारण गरेर आफूलाई मन परेको किताब पढ्न निकै मुस्किल परेको बताउँदै पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

पठन शिविरमा कसैको पनि भूमिका प्रमुख अतिथिको रूपमा थिएन । गोलाप्रथाबाट आसन ग्रहण गर्नुपथ्र्याे । आफैँलाई मन लागेको पुस्तक पढेर समीक्षा गर्नुपर्ने भएकाले पढ्नुपर्ने बाध्यता नै थियो । सहभागीमध्ये अधिकांशले ४० देखि ६० पृष्ठसम्म किताबको अध्ययन गरेर किताबको समीक्षा गरे । 


कुशादेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले जनप्रतिनिधि, नागरिक समाज र प्रधानाध्यापकबाट सुरु भएको पठन संस्कृति वडा कार्यालय, विद्यालय र समाजसम्म पुगोस् भन्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले पढ्नुको महत्त्वका बारेमा विद्यालय तहसम्म पुर्‍याउन कार्यक्रम आयोजना गरेको बताउनुभयो । 

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले किताबले ज्ञानसँगै जीवन र जगतलाई बुझाउने बताउनुभयो । उहाँले जनप्रतिनिधिलाई फुर्सद छैन भन्दैमा किताब नपढ्ने छुट नभएको तर्क गर्नुभयो । शिक्षाविद् रामप्रसाद अधिकारीले नेपालका क्रान्ति सफल हुनुको पछाडि पुस्तक अध्ययनको ठुलो भूमिका रहेको उल्लेख गर्दै अचेल सबै उमेर समूहलाई मोबाइलको लतले नराम्रोसँग फसाएको अनुभव सुनाउनुभयो ।